काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै मंगलबार राष्ट्रिय क्रिकेट टोलीको घोषणा गर्यो ।
केन्यासँगको ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको हो ।
पूर्व कप्तान मल्लले पुनरागमन गर्दा युवा विकेटकिपर अर्जुन साउदले टोलीमा पहिलो पटक मौका पाएका छन् ।
तर, टोलीमा नियमित रहदै आएका र टी-ट्वान्टी क्रिकेटमा बिस्फोटक ओपनरको छवी बनाएका युवा ओपनर कुशल भुर्तेलले स्थान गुमाएका छन् ।
टी-ट्वान्टी क्रिकेट मात्र खेलिरहेका रहेका अविनाश बोहोराले समेत टोलीमा स्थान बनाउन सकेनन् । पछिल्लो समय टोलीमा रहदै आएका विकेटकिपर विनोद भण्डारी समेत टिमबाट बाहिरिए ।
नेपालले यहिँ अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ । नेपालको केन्या भ्रमणमा मुख्य टी-ट्वान्टीमा केन्द्रित छ । तर, कुशल र अविनाश टोलीमा नपर्दा धेरैले आश्चर्य मानेका छन् ।

क्यानको खेलाडी छनोट समितिका प्रमुख दिपेन्द्र चौधरीले कम खेलाडी टिममा राख्न पर्ने बाध्यता र नयाँलाई समेत मौका दिनुपर्ने हुँदा उनीहरुलाई आराम दिईएको बताए ।
'केन्याले कम खेलाडीको पठाउन भनेकोले उहाँहरुलाई टिममा राख्न नसकिएको हो,' चौधरीले खेलपाटीलाई भने 'केन्याले १४ खेलाडी मात्र ल्याउनु भनेको थियो तर हामीले पटक पटकको आग्रहमा २ खेलाडी थप्न मन्जुर भयो नयाँलाई अवसर दिदा उहाँहरुलाई टिममा स्थान दिन सकिएन ।'
कुशलले २०२१ मा नेपालमा भएको नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलबाट टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए । त्यस सिरिजको सुरुआती ३ खेलमा उनले लगातार अर्धशतक बनाउँदै आफुलाई प्रमाणित गरेका थिए । त्यसयता उनी टोलीमा नियमित छन् । उनले टी-ट्वान्टीमा १ शतक र ५ अर्धशतक सहित ४७.७५ को औसतमा ५ सय ७३ रन बनाएका छन् । तर पछिल्लो समय उनको ब्याटबाट उलेख्य रन निस्कन सकेको छैन ।

अविनाश नेपालका एक मात्र टी-ट्वान्टी स्पेसलिस्ट बलर मानिन्छ । नेपाली मालिङ्गा उपनामले समेत परिचित अविनाश नेपालका लागि डेथ ओभर बलिङमा सफल बलरको शीर्ष स्थानमा छन् । उनले टी-ट्वान्टीमा ३५ इनिङमा ६.७९ को ईकोनोमिमा ४० विकेट लिएका छन् ।
क्यानका एक केन्द्रिय सदस्यको अनुसार नयाँ खेलाडीलाई मौका दिदा उनीहरु यस सिरिजका लागि टोलीमा नपरेका हुन् ।
'हाम्रो केन्या यात्राको सबै खर्च क्रिकेट केन्याले व्यहोर्ने भनेकाले थोरै खेलाडीको माग गरेकोमा हामीले १६ जनामा केही नयाँ खेलाडीलाई मौका दिदा कुशल र अविनाश छुट्न पुगे,' क्यानका एक केन्द्रीय सदस्यले भने 'उहाँहरुलाई यस टुरबाट आराम दिईएको हो सधैलाई होईन ।'
केन्या भ्रमणमा जाने नेपाली टोली:
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेटकिपर) ,दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव