काठमाडौं । ललितपुर मेयर्स-११ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सता १७ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका सरस्वती मगरले अविजित रहदै ४६ रन जोडिन । यस्तै कप्तान नेरी थापा र नितु भण्डारीले समान २०/२० रन जोडिन ।
ललिपुरकी सरस्वती कुमारी र आरती बिडारीले १/१ विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेकी ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
ललितपुरका लागि सुमन खतिवडाले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै अश्मिना कर्माचार्यले अविजित २० रन जोडिन ।
अनुराधा चौधरी १० रनमा आउट भईन् ।
लुम्बिनीका लागि सुस्मिता भुसाल,स्वतिका बजगाई,कृतिका मरासिनी र सरस्वती पुनले १/१ विकेट लिईन् ।
जितसँगै ललितपुरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर सुदूरपश्चिमसँग पराजित भएको थियो ।
लुम्बिनीको यो पहिलो खेलमा पहिलो हार हो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।