एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले राजस्थान रोयल्सलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ ।
जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो ।
हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले ३७ तथा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन १३ रनमा आउट भए ।
राजस्थानका भरुण आरोन, ओसाने थोमस,श्रेयस गोपाल र जयदेव उनाडकटले समान २/२ विकेट लिए ।
राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा छ । राजस्थानले ११ खेलबाट ८ अंक जोडेको छ । त्यसैले घरेलु मैदानमा हैदरावादलाई पराजित गर्दै राजस्थान प्ले अफको सम्भावना कायम गर्न चाहन्छ ।
यता, हैदरावाद घरेलु टोलीलाई हराएर शीर्ष ४ को होड कायम राख्न चाहन्छ । चौंथो स्थानको हैदरावादले १० खेलबाट १० अंक जोडेको छ ।
यस्तै हैदरावाद राजस्थानविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस सिजनको पहिलो भेटमा हैदरावादले राजस्थानलाई ५ विकेटले हराएको थियो ।