काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालमा प्रतिभाको कुनै कमी नभएको बताएका छन् । क्रिकेट प्रवर्दनका लागि अष्ट्रेलियाको मेलवर्न पुगेका पारसले नेपालमा थुप्रै सन्दीप लामिछाने रहेको उल्लेख गर्दै मात्र अवसरको खाँचो रहेको बताए ।
अष्ट्रेलियाको मेलवर्नमा एक्सपर्ट एजुकेशनले आयोजना गरको क्रिकेट मेलामा उनले भने, ‘नेपालमा सन्दीपहरु थुप्रै छन्, उनीहरुलाई केवल अवसरको खाँचो छ ।’
नेपालमा क्रिकेटको संस्थागत विकास क्रमिक रुपमा भईरहेको बताउँदै कप्तान खड्काले नेपाली क्रिकेटलाई नयाँ उचाईमा लैजान सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको धारणा राखे ।
यस्तै, घरेलु क्रिकेटको फ्रेन्चाईज प्रतियोगिता पोखरा प्रिमियर लिग पीपीएलको दोस्रो संस्करणमा एक्सपर्ट धनगढी ब्लुजले दुई खेलाडी अष्ट्रेलियाबाट समावेश गर्ने भएको छ । अष्ट्रेलियामा चार क्लब गठन गरेर क्रिकेट गतिविधि अघि बढाईरहेको एक्सपर्टले अष्ट्रेलियामा रहेका दुई राम्रा प्रतिभालाई पीपीएलमा समावेश गर्ने भएको हो ।
धनगढी ब्लुजको मुख्य प्रायोजक एक्सपर्टले सिड्नीमा क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । सोही प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने दुई खेलाडी पीपीएलका लागि छनोट हुनेछन् ।
एक्सपर्ट एजुकेशनका निर्देशक सञ्जिब शर्माले क्षमतावान खेलाडीलाई अवसर सिर्जना गर्न आफुहरु लागि परेको बताए । ‘क्षमतावान खेलाडीलाई अवसरको खाँचो छ । हामी अवसर सिर्जना गर्न समेत अग्रसर छौ ।’ उनले भने ।