एजेन्सी । पट कुमिन्सले अर्धशतकीय इनिङस खेलेपछि भारतविरुद्धको तेस्रो टेष्ट क्रिकेटको चौथो दिन शनिबार अष्ट्रेलिया हारबाट जोगिएको छ ।
मेलबर्नमा भारतले दिएको ३९९ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको अष्ट्रेलियाले चौथो दिनको खेल सकिदा ८५ ओभरमा ८ विकेट गुमाएर २५८ रन जोडेको छ । र, अष्ट्रेलिया भारतविरुद्ध १४१ रनले पछि छ । अष्ट्रेलियासंग मात्र २ विकेट हातमा छ ।
चौथो दिन मै पराजयतर्फ अग्रसर अष्ट्रेलियाका लागि कुमिन्सले अविजित ६१ रन बनाएर खेल्दै हारबाट जोगाएका हुन् । उनलाई नाथन लायनले ६ रन बनाएर साथ दिईरहेका छन् ।
त्यसअघि अष्ट्रेलियाका शौन मार्श ४४, टिम हेड ३४ तथा उश्मान ख्वाज्वा ३३ रन बनाएर आउट भए । भारतका लागि रविन्द्र जडेजाले ३ तथा जस्प्रित बुम्रहा र मोहमद सामीले २/२ विकेट लिए ।
यसअघि दोस्रो इनिङमा भारतले ८ विकेटको क्षतिमा १०६ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङसमा भारतले ४४३ रन जोडेको थियो ।
अष्ट्रेलिया भने पहिलो इनिङसमा १५१ रन जोड्दा अलआउट भएको थियो । बुम्रहाले ३३ रन खर्चेर ६ विकेट लिएपछि अष्ट्रेलिया पहिलो इनिङसमा सस्तैमा समेटिएको थियो ।
कुमिन्सले सम्हालिएको ब्याटिङ गरेपछि भारतले चार खेलको सिरिजमा शनिबार २ - १ को अग्रता बनाउने मौका गुमाएको छ । दुई टोलीबीचको टेष्ट १ - १ को बराबरीमा रहेको छ ।