काठमाडौं । नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज युएईसंग खेल्ने भएको छ । नेपालले आगामी जनवरीमा युएईसंग एकदिवसीय खेल्ने भएका हुन् ।
युएईमा हुने सिरिजको मिति भने केहि दिनमा आउने बताईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले केहि दिनमा नेपाल र युएईबीच हुने खेलको मिति तय गर्ने आईसीसीको नेपाल प्रतिनिधि तथा क्यानका पुर्व सीईओ भावना घिमिरेले बताईन्।
'नेपाल र युएईबीच खेल हुने पक्का छ । सिरिजबारे छलफल जारी छ,' घिमिरेले खेलपाटीसंग भनिन्, 'अहिले मिति तय भएको छैन । आईसीसीले १०-१५ दिनमा खेल तालिका पठाउनेछ ।'
यस्तै घिमिरेले नेपाल र युएईबीच एकदिवसीय क्रिकेट सिरिज र टी-ट्वान्टी क्रिकेट सिरिज हुने जानकारी गराईन् । तर, कति खेलको एकदिवसीय र टी-ट्वान्टी हुने भन्ने बारे आईसीसीले निर्धारण गर्ने घिमिरेले जानकारी गराईन् ।
आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ - १ को बराबरी भएको थियो ।
नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।
युएईका कप्तान रोहन मुस्तफा हाल नेपालमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेलिरहेका छन् । काठमाडौं किङस इलाभेनबाट खेलिरहेका रोहनले नेपाली टोलीका कप्तान पारससंग सिरिजबारे छलफल गरिसकेको बताईएको छ ।