काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा भारतको दिल्ली जिल्ला क्रिकेट एसोसियसन(डीडीसीए) सँग हार व्यहोरेको छ ।
जामिया मिलिया इस्लामिया युनिभर्सिटीको मैदानमा बिहीबार भएको खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ३ सय ४ रनको लक्ष्य डीडीसीएले ४९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि सालिल मल्होत्राले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
भैवब शर्माले ४४ रन जोड्दा एस वरदानले अविजित ४२ तथा धुर्ब कौशिकले ४१ रन बनाए ।
सक्षम शर्माले ३३ रन जोडे भने शिवम शर्माले ३१ रन बनाए ।
नेपालका कुशल भुर्तेलले ३ तथा नन्दन यादवले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले शतकीय ईनिङ खेले ।
कप्तान रोहितले १ सय ३५ बलमा ११ चौका र १ छक्काको सहयोगमा १ सय १३ रन तथा ऐरीले ६२ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित १ सय ९ रनको शतकीय ईनिङ खेले ।
हरिशंकर शाहले ३९ बलमा २५ तथा कुशल भुर्तेलले ३९ बलमा २१ रन बनाए । आरिफ शेखले अविजित १८ रन बनाए।
नेपालका ओपनरद्वय आसिफ शेख तथा अर्जुन साउदलाई शुन्यमा गुमाएको नेपालले पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पनि शुन्य रनमा गुमाएको थियो ।
डीडीसीएका लागि प्रिन्स यादवले ३ तथा मनिश सिरावतले २ विकेट लिए ।
आईसीसी एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टूको नामिबियामा हुने त्रिदेशीय सिरिजको तयारीको लागि नेपाली टोली भारतको दिल्लीमा रहेको छ ।