काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै सुदुरपश्चिमले सुखद सुरुआत गरेको हो ।
कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदुरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदुरपश्चिमको जितमा मिलन बोहोराले ४७ बलमा ४२ तथा दिपक बोहोराले १६ बल तथा दिपक बोहोराले २४ बलमा समान २०/२० रन बनाए ।
सुनिल चन्दले अविजित ११ रन जोड्दा विशाल ऐरले ९ रनको योगदान गरे ।
कर्णालीका लागि अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन विकले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा अलआउट हुदै १ सय २७ रन बनाएको थियो ।
कर्णालीका लागि दिनेश अधिकारीले ३२ बलमा अविजित ३५ रन जोडेका थिए । सुवास ऐरले ३० तथा कप्तान विपीन रावलले १९ रन जोडेका थिए । आवाश शाहले १५ रन जोड्दा उसका ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदुरपश्चिमका लागि मिलन बोहोराले ३ तथा नरेन साउद २ विकेट लिएका थिए । हेमन्त धामी र कैलाश ऐरले समान १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।