काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोरलाई नियुक्त गरेको छ ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएकाे क्यानले जनाएकाे छ ।
श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।
उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।
वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुअरीबाट मुख्य प्रशिक्षक विहीन रहेको थियाे ।
नेपालले गत मार्चमा अन्तिम पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दा जगत टमटाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
गत सेप्टेम्बरमा क्यानले मुख्य प्रशिक्षकको लागि पहिलो पटक दरखास्त आह्वान गरेकाे थियाे । नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए ।
क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तर्वार्ताका लागि १२ जना मात्र उपस्थित भए ।
अन्तर्वार्तापछि क्यानले वाटमाेर सहित ३ प्रशिक्षकको नाम आईसीसीमा पठाएको थियाे ।
आईसीसीकाे सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेकाे छ ।
काे हुन् देव वाटमोर ?
देव वाटमोर विश्वको क्रिकेटमा प्रतिष्ठित नाम हो । यस नाम नेपालका लागि समेत नौलो हैन । सन् २०१७ मा ब्याट एण्ड बल फाउन्डेसनको सहकार्यमा वाटमोरले नेपाली टिमलाई २ हप्ता प्रशिक्षण दिएका थिए ।
श्रीलंकाका वाटमोरले अष्ट्रेलियाबाट क्रिकेट खेले । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् ।
खेल जीवनमा खासै सफलता चुम्न नसकेका उनी प्रशिक्षण जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् ।
सन् १९९६ को समयमा क्रिकेटमा खासै सफलता हात नपारेको बेला श्रीलंकालाई विश्वकप जिताउन वाटमोरको ठुलो हात रह्यो । उनकै प्रशिक्षणमा रहेको श्रीलंकाको टिम विश्वविजेता बन्दा श्रीलंकाले क्रिकेटमा कोल्टे फेर्ने अवसर पायो ।
यस्तै तत्कालिन उदाउँदो राष्ट्र बंगलादेशलाई वाटमोर पहिलो टेष्ट क्रिकेट जिताउन सफल भए । सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक बनेका उनले जिम्बाबेविरुद्ध सन् २००५ मा बंगलादेशले पहिलो टेष्ट जितेको थियो । उनी प्रशिक्षक रहदा बंगलादेशले क्रिकेट जगतमा अप्रत्यासित नतिजा निकाल्दै आएको थियो ।
बंगलादेशले तत्कालिन क्रिकेटको शीर्ष टिम अष्ट्रेलियालाई पराजित गर्दै सनसनी नतिजा निकालेको थियो । यस्तै सन् २००७ मा अर्को पावर हाउस दक्षिण अफ्रिका र भारतलाई समेत बंगलादेशले पाखा लगाएको थियो ।
सन् २००७ मा वाटमोर भारतीय क्रिकेट र इंल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकको दाबेदारको रुपमा उभिएका थिए । सन् २००८ मा वाटमोरले भारतको यू-१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए । त्यस युवा विश्वविजेता टोलीका कप्तान विराट कोहली थिए र प्रशिक्षक वाटमोर ।
यस्तै सन् २०१० र ११ को आईपीएलमा काेलकता नाइट राइडर्सको प्रशिक्षक रहे । त्यस बाहेक उनी सन् २०१२ मा पाकिस्तान, सन् २०१४ मा जिम्बाबे र सन् २०२० मा सिंगापुरको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए ।
प्रशिक्षकको भूमिकामा आफ्नो कुनै कसुर नराखी इतिहास रच्दै आएका वाटमोरले हाल नेपालको प्रशिक्षक बन्न सफल भएका छन् ।