काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली युवा टोली थाइल्याण्ड पुगिसकेको छ ।
थाइल्याण्डको चियाङमाईमा नेपालले भोलि (शनिबार) म्यानमारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र म्यानमारबीचको खेल बिहान ९:१५ मा सुरु हुनेछ ।
म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल जितसहित सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने छैन ।
प्रतियोगिताको लागि थाइल्याण्ड जानुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक बसन्त शाहीले तयारी छोटो भएपनि आफ्नो टिम उपाधि रक्षा गर्न सक्षम रहेको बताएका थिए । साविकको विजेता नेपाललाई उपाधि रक्षाको चुनौती समेत रहेको छ ।
‘गत वर्ष हामी च्याम्पियन बन्न सफल भएका थियौं । त्यसैले हामीलाई उपाधि रक्षा गर्नुपर्ने चुनौती छ,' प्रशिक्षक शाहीले भनेका थिए, 'छोटो तयारी भएपनि टिम सन्तुलित बनेको छ । हामी उपाधि डिफेन्स गर्न सक्षम छौं ।'
यू-१६ प्रतियोगितामा म्यानमारविरुद्ध नेपालको नतिजा उत्कृष्ट रहेको छ । गत संस्करणको समूह चरणको भेटमा नेपालले म्यानमारविरुद्ध उत्कृष्ट उत्कृष्ट प्रदर्शन गरेको थियो ।
अघिल्लो संस्करणमा नेपालले म्यानमारलाई ३३७ रनले हराएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउदै ३५० रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको म्यानमारका ७ खेलाडीलाई नेपाली बलरले डक आउट गर्दा म्यानमार १३ रनमा अलआउट भएको थियो ।
नेपाल शनिबार पहिलो खेलमा म्यानमारविरुद्ध अघिल्लो संस्करणको जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यता, म्यानमार भने नेपालसंग बदला लिने योजनासहित मैदान उत्रने छ ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
यो पनि पढ्नुस -
'उपाधि रक्षा गर्न सक्षम छौं'
एसीसी यू-१६ क्रिकेट टोलीको घोषणा
नेपालको पहिलो प्रतिद्वन्दी म्यानमार