काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले आज (बुधबार) एएफसी कपको दोस्रो खेलमा भारतीय क्लब चेन्नईयिनसंग प्रतिस्पर्धा गर्दैछ ।
भारतको अहमदाबादस्थित एरेना रंगशालामा मनाङले घरेलु टोली चेन्नईयिनसंग प्रतिस्पर्धा गर्नेछ । समूह 'इ' मा रहेको मनाङ र चेन्नईयिनबीचको खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ ।
एएफसी कपको पहिलो खेलमा पराजित मनाङ घरेलु टोलीविरुद्ध पहिलो अंक जोड्ने योजनासहित मैदान उत्रने छन् । एएफसी कपको समूह चरण पार गर्ने लक्ष्य बनाएको मनाङलाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।
पहिलो खेलमा बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १-० गोल अन्तरले पराजित मनाङलाई दोस्रो चरणको आशा जीवित बनाउन चेन्नईयिनविरुद्ध अंक जोड्दै पर्ने आवश्यकता रहेको छ ।
'चेन्नईयिनसंग हामीलाई जितको विकल्प छैन,' चेन्नईयिनविरुद्धको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले भने, 'हामी जित्न कै लागि खेल्छौ । नयाँ वर्षको सुरुवात हामी जितबाट गर्नेछौं ।'
तर, घरेलु तथा भारतीय सुपर लिग क्लब चेन्नईयिनविरुद्ध मनाङलाई जित निकाल्न सहज भने छैन । किनकि चेन्नईयिन भारतीय सुपर लिगमा दुई पटकको च्याम्पियन क्लब हो ।
चेन्नईयिनसंग गोलकिपरमा करन्जित सिंह, डिफेन्डरमा ब्राजिलका खेलाडी मेलसन अल्भेस, एलि सविया, अष्ट्रेलियाका क्रिस हेर्ड जस्ता खेलाडीको साथ रहेको छ ।
यस्तै भारतीय राष्ट्रिय टिमबाट खेलिसकेको जेजे लाल्पेखुलुवा, सिके भीनिथ जस्ता खेलाडीको साथ रहेको छ । चेन्नईयिनले पहिलो खेलमा भारतीकै आई लिग विजेता मिर्नेभा पंञ्जाबसँग गोलरहित बराबरी खेलेको थियो ।
तर, मनाङका कप्तान तथा डिफेन्डर विराज महर्जनले चेन्नईयिनसंग अंक खोस्ने लक्ष्यसहित नै मैदान उत्रने बताए ।
'चेन्नईयिनको खेल हेरेका छौं । खेलाडीहरु सबै फ्रेस भएका छन् । शारीरिक र मानशिक रुपमा खेल्न तयार छौं,' कप्तान महर्जनले भने, 'हामी जित कै लागी खेल्छौ ।'
होम एण्ड अवेको आधारमा हुने समूह चरणको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । त्यसका लागि मनाङलाई अबको खेलमा अंक जोड्नै पर्ने बाध्यता समेत रहेको छ ।
प्ले अफमा समूह 'इ' को विजेतासहित समूह 'डी', 'आइ' र आसियान क्षेत्रको विजेताले खेल्नेछ ।
एएफसी कप : मनाङको प्रतिद्वन्दी र खेल तालिका