काठमाडौं। साफ च्याम्पियनसिप अनिश्चित बनेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसिप सरेको पुष्टि गरेसँगै अनिश्चित बनेको हो।
अन्तिमपल्ट च्याम्पियनसिप २१ जुनदेखि ४ जुलाई, २०२३ मा भारतको बैंग्लोरमा भएको थियो। फाइनलमा घरेलु टोलीले कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधि जितेको थियो। यसपल्ट भने च्याम्पियनसिप जुलाईमा श्रीलंकामा आयोजना हुने तय गरिएको थियो।
तर, साफको मार्केटिङ साझेदार स्पोर्ट्स फाइभ (जर्मनीको खेलकुद मार्केटिङ कम्पनी) को चाहनाअनुसार यो वर्ष च्याम्पियनसिप नगरिएको साफ कार्यकारी समितिका सदस्य अली उमरले जानकारी दिए। उक्त साझेदारले प्रतियोगिता ‘होम एन्ड अवे’ ढाँचामा आयोजना गर्न चाहेको बताइएको छ।
सम्भावित प्रायोजकहरू सजिलै पाउन सकिने आधारमा यस्तो प्रस्ताव गरिएको हो। तर, अहिले यो ढाँचामा सम्भव देखिएको छैन। यसको सट्टामा श्रीलंकाले आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। साफलाई स्वतन्त्र रूपमा प्रतियोगिता आयोजना गर्न आर्थिक स्रोतको अभाव हुँदै आएको छ। त्यसैले मार्केटिङ साझेदारको स्वार्थअनुसार आयोजक राष्ट्र छनोट हुँदै आएको छ।
यही कारण च्याम्पियनसिप स्थगन गरिएको बताइएको छ। अर्को वर्ष फिफा विश्वकप हुँदैछ। त्यसैले साफ च्याम्पियनसिप अनिश्चित बनेको छ। श्रीलंकाले अन्तिम पटक सन् २००८ मा माल्दिभ्ससँग मिलेर यो प्रतियोगिता आयोजना गरेको थियो।
हालसम्म भारतले सबैभन्दा बढी चारपल्ट साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ। बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र नेपालमा समान दुईपल्ट प्रतियोगिता आयोजना हुँदा भुटानले भने अहिलेसम्म आयोजक बन्ने मौका पाएको छैन।
श्रीलंकाले सन् १९९५ मा कोलम्बोमा आयोजित साफ च्याम्पियनसिप जितेको थियो, जुन अहिलेसम्मको एक मात्र उपाधि हो।