काठमाडौं। यस जुलाईमा श्रीलंकामा आयोजना हुने भनिएको साफ च्याम्पियनसिप अब २०२६ मा मात्र हुने भएको छ। यसको सट्टामा श्रीलंकाले आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ।
च्याम्पियनसिप स्थगित गर्ने निर्णय साफको मार्केटिङ साझेदारको चाहनाअनुसार गरिएको साफ कार्यकारी समितिका सदस्य अली उमरले जानकारी दिए। उक्त साझेदारले प्रतियोगिता ‘होम एन्ड अवे’ ढाँचामा आयोजना गर्न चाहेको बताइएको छ, जुन अहिलेका लागि सम्भव देखिएको छैन।
सुरुमा साफले प्रतियोगिता यसै वर्ष ‘होम एन्ड अवे’ ढाँचामा गराउने प्रयास गरेको थियो। तर, यसरी आयोजना गर्दा प्रतियोगिता दुई महिनाभन्दा बढी समय लाग्ने भएकाले खर्च अत्यधिक हुने देखिएको थियो। त्यसैले पछि केन्द्रित मोडेलमा अर्थात् एउटै देशमा आयोजना गर्ने निर्णय लिइएको थियो, जसअनुसार श्रीलंकालाई आयोजक तोकिएको थियो।
तर, बंगलादेशको ‘डेली अब्जर्भर’ पत्रिकाका अनुसार जर्मनीको खेलकुद मार्केटिङ कम्पनी स्पोर्ट्स फाइभ (साफको मार्केटिङ साझेदार) ले प्रतियोगिता यदि केन्द्रित ढाँचामा गरिने हो भने बंगलादेश वा भारतमा गर्न सुझाव दिएको छ। सम्भावित प्रायोजकहरू सजिलै पाउन सकिने आधारमा यस्तो प्रस्ताव गरिएको बताइएको छ।
साफलाई स्वतन्त्र रूपमा प्रतियोगिता आयोजना गर्न आर्थिक स्रोतको अभाव हुँदै आएको छ। त्यसैले साफको मार्केटिङ साझेदारको स्वार्थअनुसार आयोजक राष्ट्र छनोट हुँदै आएको छ। यही कारण च्याम्पियनसिप स्थगन गरिएको बताइएको छ।
अब एसियाली फुटबल महासंघ (एएफसी), साफ, र श्रीलंकन फुटबल महासंघ मिलेर आगामी जुलाईमा एक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ। तर, यसको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।