काठमाडौं। नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा नबस्ने भएका छन्।
तेस्रो संस्करणको मिनी अक्सनको ‘ए’ क्याटोगोरीमा ३४ खेलाडी छन्। उनलाई पनि उक्त क्याटोगोरीमा आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले अक्सनमा राखेको थियो। तर, उनले उक्त कुरामा आपत्ति जनाएका हुन्।
उनले खेलपाटीसँग भने, ‘मेरो आयोजकले अक्सनमा नाम राखेको रहेछ। त्यसबारे मलाई थाहा छैन। म अक्सनमा बस्दिन।’
किरण हाल आइ लिग क्लब पञ्जाव एफसीको गोल पोस्ट सम्हालिरहेका छन्। उनले पहिलो संस्करणको एनएसएल धनगढी एफसीबाट खेलेका थिए। उक्त संस्करण उनकै कप्तानीमा धनगढीले फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, उपाधि भिडन्तमा धनगढी काठमाडौं रेजर्ससँग १–० ले पराजित भयो।
अक्सनअघि ‘ए’ क्याटोगोरीका ३४ मध्ये १४ खेलाडी मार्की र रिटेन भइसकेका छन्। झापाले लाकेन लिम्बूलाई मार्की खेलाडी बनाएको छ। तर, उनी आइ लिगमा ब्यस्त भएका कारण अक्सनमा मार्की खेलाडीको रुपमा छिरिङ लामा उपस्थित हुनेछन्।
काठमाडौंले रोहन कार्की, बुटवल लुम्बिनी एफसीले मनिष डाँगी, एफसी चितवनले अञ्जन विष्ट, पोखरा थन्डर्सले समीर तामाङ, ललितपुर सिटी एफसीले अनन्त तामाङ र धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की बनाएको छ।
यस्तै, ललितपुरले सनीश श्रेष्ठ, बुटवलले एरिक विष्ट, पोखराले आयुष घलान, धनगढीले देवेन्द्र तामाङ, काठमाडौंले दीपेश गुरुङ र चितवनले विशाल श्रेष्ठलाई ‘ए’ क्याटोगोरीबाट रिटेन गरिसकेको छ।