काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनको ‘ए’ क्याटोगोरीमा ३४ खेलाडी परेका छन्।
अक्सन शनिबार हुँदैछ। अक्सनमा नेपाली राष्ट्रिय टोलीका नम्बर वान गोलकिपर किरण चेम्जोङ पनि सहभागी हुने भएका छन्। प्राप्त लिस्टअनुसार उनी ‘ए’ क्याटोगोरीमा छन्।
उनले पहिलो संस्करणको एनएसएल धनगढी एफसीबाट खेलेका थिए। उक्त संस्करण उनकै कप्तानीमा धनगढीले फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, उपाधि भिडन्तमा धनगढी काठमाडौं रेजर्ससँग १-० ले पराजित भयो।
किरण हाल आइ लिग क्लब पञ्जाव एफसीको गोल पोस्ट सम्हालिरहेका छन्।
अक्सनअघि ‘ए’ क्याटोगोरीका ३४ मध्ये १४ खेलाडी मार्की र रिटेन भइसकेका छन्। झापाले लाकेन लिम्बूलाई मार्की खेलाडी बनाएको छ। तर, उनी आइ लिगमा ब्यस्त भएका कारण अक्सनमा मार्की खेलाडीको रुपमा छिरिङ लामा उपस्थित हुनेछन्। काठमाडौंले रोहन कार्की, बुटवल लुम्बिनी एफसीले मनिष डाँगी, एफसी चितवनले अञ्जन विष्ट, पोखरा थन्डर्सले समीर तामाङ, ललितपुर सिटी एफसीले अनन्त तामाङ र धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की बनाएको छ।
यस्तै, ललितपुरले सनीश श्रेष्ठ, बुटवलले एरिक विष्ट, पोखराले आयुष घलान, धनगढीले देवेन्द्र तामाङ, काठमाडौंले दीपेश गुरुङ र चितवनले विशाल श्रेष्ठलाई ‘ए’ क्याटोगोरीबाट रिटेन गरिसकेको छ।