काठमाडौं। क्रिस्टियानो रोनाल्डो आफ्नो ४०औं जन्मदिनमा पनि उस्तै आत्मविश्वास र गौरवका साथ प्रस्तुत भइरहेका छन्। साउदी अरबमा अल–नासारबाट खेलिरहेका रियल मड्रिडका पूर्वस्टारले बुधबार ४० वर्ष टेके पनि आफू फुटबल इतिहासको सर्वश्रेष्ठ खेलाडी भएकोमा कुनै शंका नरहेको बताएका छन्।
उनले हालै स्पेनको टेलिभिजन च्यानल ‘ला सेक्स्टा’सँगको अन्तर्वार्तामा आफूले आफैंलाई सधैं सर्वश्रेष्ठ खेलाडी मान्ने कुरा दोहोर्याए। ‘म इतिहासको सबैभन्दा ठूलो स्कोरर हुँ,’ रोनाल्डोले भने, ‘म बायाँ खुट्टे खेलाडीमात्रै होइन, गोल गर्ने इतिहासको शीर्ष १० खेलाडी हुँ। यी तथ्यांकले देखाउँछन् कि म अहिलेसम्मकै सबैभन्दा पूर्ण खेलाडी हुँ।’
उनले थपे, ‘म राम्रो हेडर गर्छु, उत्कृष्ट फ्रिकिक लिन्छु, म छिटो छु, बलियो छु र राम्रो जम्प गर्छु। मैले अहिलेसम्म मभन्दा राम्रो खेलाडी देखेको छैन।’ पोर्चुगलका स्टार रोनाल्डोले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल र सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाइसकेका छन्। उनले २१७ खेलमा १३५ गोल गरेका छन्।
रोनाल्डोले यसअघि पनि आफू इतिहासकै महान् खेलाडी भएको दाबी गर्दै आएका छन्। लिओनल मेसीसँगको तुलनासम्बन्धी प्रश्नमा उनले अर्जेन्टिनी स्टारको प्रशंसा गरेका भए पनि अन्ततः आफूलाई नै उत्कृष्ट मानेका छन्।
उनको पछिल्लो अभिव्यक्तिले फुटबल जगतमा विभिन्न प्रतिक्रियाहरू उत्पन्न गरेको छ। उनका पूर्वप्रतिस्पर्धी मेसीका पूर्वटिममेट तथा इन्टर मियामीका प्रशिक्षक जेभियर मास्चरानोले भने, ‘क्रिस्टियानोको विचारको सम्मान छ। तर, मलाई तिनको विश्लेषण गर्नु आवश्यक छैन। उहाँको सोच उहाँकै हो, मेरो सोच फरक छ।’