काठमाडौं। आउँदो बुधबार क्रिस्टियानो रोनाल्डो ४० वर्ष पुग्दैछन्। तर, उनले अझै पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखिरहेका छन्। रियादको अल–नासर क्लबलाई नेतृत्व गर्दै उनी अल–वासलविरुद्ध एएफसी च्याम्पियन्स लिग एलिट समूहको खेलका लागि तयारीमा छन्।
पोर्चुगिज स्टार रोनाल्डोले डिसेम्बर २०२२ मा अल–नासरमा अनुबन्ध भएका हुन्। उनले यो सिजन साउदी प्रो लिगमा १७ खेलमा १५ गोल गरिसकेका छन्। यदि रोनाल्डोले आफ्नो लिगको प्रदर्शन च्याम्पियन्स लिगमा पनि निरन्तरता दिन सके भने अल–नासरले पहिलो पटक एसियाली च्याम्पियन बन्ने मौका प्राप्त गर्नेछ। समूह चरणका दुई खेल बाँकी छन्। तर, अल–नासर पहिले नै नकआउट चरणका लागि छनोट भइसकेको छ।
‘रोनाल्डोको लागि सबैभन्दा राम्रो जन्मदिनको उपहार अल–वासलविरुद्धको जित हुनेछ,’ अल–नासरका प्रशिक्षक स्टेफानो पिओलीले सोमबारको खेलअघि भने, ‘यो हाम्रो लागि महत्त्वपूर्ण खेल हो र हामी तीन अंक चाहन्छौं।’
म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका लागि पाँच पटक युइएफए च्याम्पियन्स लिग जितेका रोनाल्डोको एसियामा भने त्यो उपलब्धि दोहर्याउन सकेका छैनन्। त्यसैले उनलाई सफल बनाउन अल–नासरले गत हप्ता इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट जोन डुरानलाई लगभग ७९ मिलियन डलरमा अनुबन्ध गरेको छ। साउदी अरबका सञ्चारमाध्यमका अनुसार डुरानलाई अल–वासलविरुद्ध खेल्न दर्ता भइसकेका छन्।
‘डुरान राम्रो अवस्थामा छन्। हामी उनलाई कसरी उपयोग गर्ने भनेर योजना बनाउने छौं,’ पिओलीले भने। अल–नासरले म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर आयमेरिक लापोर्टलाई व्यक्तिगत कारणले गुमाउनेछ। अर्का डिफेन्डर अली लाजामी र पोर्चुगिज मिडफिल्डर ओटाभियो पनि चोटका कारण उपलब्ध हुने छैनन्।
१२ टोलीको समूहमा अल–नासर हाल तेस्रो स्थानमा छ। साउदीका दुई प्रतिद्वन्द्वी अल–हिलाल र अल–अहली भने ६ खेलसम्म अपराजित छन्। अल–हिलालले चार पटकको महादेशीय उपाधि जितिसकेको छ, जुन कुनै पनि एसियाली क्लबभन्दा बढी हो। तर, नेयमारको अनुपस्थितिमा पर्सेपोलिसविरुद्धको खेल कठिन हुनेछ। नेयमार पछिल्लो १८ महिनामा मात्र सात खेल खेलेर दक्षिण अमेरिकामा फर्किएका छन्।
‘हामी खेलको लागि उत्साहित छौं,’ अल–हिलालका प्रशिक्षक जोर्ज जिससले भने, ‘हाम्रो लक्ष्य घरमै जित हात पार्नु हो।’ अर्कोतर्फ प्रिमियर लिगका पूर्वस्टारहरू रियाद माहरेज र इभान टोनी रहेका अल–अहलीले आक्रमण खेल पस्किरहेको छ। त्यसैले अल–अहलीलाई पहिलो पटक च्याम्पियन्स लिगको दाबेदार मानिएको छ।