काठमाडौं । नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणको अन्तिम खेलमा भारतले हङकङलाई १ सय २० रनले पराजित गरेसँगै नेपाल बाहिरिएको हो ।
यदि हङकङले भारतलाई पराजित गरेको खण्डमा नेपाल नेट रन रेटको आधारमा अघिल्लो चरणमा पुग्न सक्ने समिकरण रहेको थियो । तर, भारतको जितसँगै नेपाल औपचारिक रुपमा बाहिरिएको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा भारतले दिएको ३ सय २२ रनको फराकिलो लक्ष्य पछ्याएको हङकङ ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो ।
हङकङ साहिद वासिफले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इशान खानले ३६ तथा इशान अलीले २५ रन बनाए । भारतका सुभम शर्माले ४ तथा शिभम माभी र सिदार्थ देशाईले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो । भारतका चिन्मे सुतारले १ सय ४ रनको शतकीय इनिङ्स खेले ।
यस्तै रभी सारथले ९० रन जोड्दा सुभम शर्माले अविजित ६५ रन बनाए ।
हङकङका किन्चिट शाहले ३ विकेट लिए ।
हङकङलाई हराएसँगै भारत भने समूह 'बी' बाट समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भारतले ३ खेलमा ४ अंक जोड्यो ।
यस समूहमा ३ खेलमा ६ अंक जोडेर बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ ।
नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित निकाल्यो । ३ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो ।
समूह चरणको सबै खेल गुमाएको हङकङ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।
सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग पराजित भएको थियो ।
नेपालले यस अघि हङकङलाई ४० रनले हराएको थियो । भारतको यू-२३ टिमसँग भने ७ विकेटले पराजित भएको थियो ।