काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए ।
नेपालका सुशन भारी र करण केसीले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।
नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलाे प्रर्दशन गर्न सकेनन् । पुछारबाट ब्याटिङ गर्न आएका उनले ४ चौकाकाे मदतले ६३ बलमा सर्वाधिक ३८ रन बनाए ।
खराब सुरुवात गरेको नेपालका लागि सोमपाल र करण केसीले ५० रनको साझेदारी गरेपछि नेपाल न्युन स्काेर हुनबाट जाेगिएकाे हाे ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गर्दै राम्राे सुरुवात दिलाएका थिए । भुर्तेल १० रनमा आउट भए ।
त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दाेस्राे विकेट गुमायो ।
अर्का ओपनर तथा कप्तान मल्ल २२ रनमा आउट भए । शरद १ रनमा पेभेलियन फर्किए ।
यस्तै करणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।
बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३/३ विकेट हात पारे ।
यस्तै तान्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।
नेपाललाई पराजित गरेसँगै बंगलादेश भने समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
अपराजित बंगलादेशले ३ खेलमा ६ अंक जोड्यो ।
नेपालले भने ३ खेलमा २ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ ।
नेपालको सेमिफाइनल पुग्ने सम्भावना गणितीय मात्र रहेको छ ।
अब नेपालको सेमिफाइनल समीकरण भारत र हङकङबीचको खेलले तय हुनेछ । भारतलाई हङकङले पराजित गरे नेपालको सेमिफाइनल सम्भावना रहन्छ ।