ताप्लेजुङ । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि आज (बिहिबार) दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा हुने फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
नारायणी माविको खेल मैदानमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । साविकको विजेता पुलिस उपाधि रक्षाको योजनामा हुनेछ । पाँच राष्ट्रिय खेलाडीको साथ रहेको पुलिसले सेमिफाइनलमा गण्डकी प्रदेशलाई हराएको थियो ।
हालै नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि जितेको पुलिस निकै आत्मविश्वासको साथ मैदान उत्रनेछ । पुलिसले आठौंमा आर्मीलाई नै हराएको थियो । पुलिस आठौंको जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।
यता, आर्मी पुलिससंग आठौंमा व्यहोरेको हारको बदला योजनासहित मैदान उत्रनेछ । ७ जना राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रने आर्मी पुलिसलाई हराउँदै पहिलोपटक पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधि जित्न चाहन्छ ।
सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको थियो । पुलिसविरुद्ध आर्मी एपीएफसंगको जितलाई निरन्तरता दिन चाहन्छ ।
मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ ।
यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् ।