काठमाडौं । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता बैशाख चौंथो साता ताप्लेजुङमा आयोजना हुने भएको छ ।
आयोजक श्री जलजले क्लब साघुले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ देखि २६ गतेसम्म संचालन हुने जनाएको छ ।
मौवाखोला क्लब र न्यु पाथिभरा क्लबको सह आयोजनामा हुने प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय टिम र एक विश्व विद्यालय स्तरिय टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । नारायणी माबिको खेल मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी गराए । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर,ब्लकर,क्विकर, स्पारकर र प्रशिक्षकले समान ७/७ हजार पाउने छन् ।
हरेक खेलको म्यान अफ दि म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।