रामेछाप । गण्डकी प्रदेश, शान्तीदिप युवा क्लब र नमुना दिप युवा क्लब चौथों संस्करणको मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा जित निकाल्दै तीनै टोली समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् ।
मन्थलीमा गण्डकी प्रदेशले बुधबार दुवै खेलमा जित निकाल्यो । पहिलो खेलमा तीन नम्बर प्रदेशलाई २६–२४,२५–९,२५–१९ले पराजित गरेको गण्डकीले दोस्रो खेलमा सात नम्बर प्रदेशलाई २५–१८,२५–२०,२५–१९ ले समूह 'क' को विजेता बन्यो । यस समूहबाट सात नम्बर प्रदेश भने बाहिरिएको छ ।
समूह 'घ' को खेलमा शान्तीदिपले प्याराडाइजलाई २५–१९,२५–१८,२५–१७ ले हरायो । यस्तै समूह 'ग' को खेलमा नमुनादिपले दुई नम्बर प्रदेशलाई २५–१९,२५–२३,२५–१२ ले हरायो ।
अब बिहिबार हुने क्वार्टरफाइनलमा गण्डकीले दुई नम्बर प्रदेश,शान्तीदिपले कर्णाली प्रदेश, नमुनादिपले तीन नम्बर प्रदेश तथा प्याराडाइजले एक नम्बर प्रदेशको सामना गर्ने छन् ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा जारी प्रतियोगितामा ७ प्रदेश र ५ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर,डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०/१० हजार नगद पाउने छन् ।
त्यसअघि प्रमुख अतिथी संघीय सांसद श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।