पोखरा। प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ ले विजयी शुरूआत गरेको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की स्थापना दिवशको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जनकल्याणले माछापुच्छ्रे गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्यो।
पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेल मैदानमा भएको खेलमा जनकल्याणले पहिलो सेट २५–१५ ले जितेको थियो। तर, दोस्रो सेट १७–२५ ले गुमायो। तेस्रो तथा निर्णायक सेटमा शुरूआती अंकमा पछाडि परेको जनकल्याणले उत्कृष्ट पुनरागमन गर्दै माछापुच्छ्रेलाई २६–२४ ले पराजित गर्यो।
जितसँगै जनकल्याणले २ अंक जोड्यो। कुल ९ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए।
उनका अनुसार ९ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’तर्फ माछापुच्छ्रे गाउँपालिका भलिबल संघ, जनकल्याण पोखरा–११, फ्रेन्स यूथ क्लब, मादी–११ रहेका छन्। े गाउँपालिका भलिबल संघ, जनकल्याण पोखरा–११, फ्रेन्स यूथ क्लब, मादी–११ रहेका छन्।
यस्तै समूह‘बी’तर्फ जिभिपि युके लन्डन, अन्नपूर्ण गाउँपालिका भलिबल संघ, माछापुच्छ्रे गुराँसे भूमि घाचोक, शान्तिदेवी यूथ क्लब शिशाघाट र माछापुच्छ्रे गाउँपालिका–२ रहेको छ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुनेले ४० हजार र सान्त्वना हुनेले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नवीन पुनले बताए।