काठमाडौं । नेपाल भलिबल संघको आसन्न निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का एकाध कर्मचारी चलखेलमा लागेका छन् । संघको भदौ २२ गते तोकिएको केन्द्रिय निर्वाचनका लागि राखेपका एकाध कर्मचारी र प्रशिक्षक चुनावी चलखेलमा लागेका हुन् ।
राखेपको नायव सुब्बा पदमा कार्यरत कर्मचारी डिबी नेपाली आईतबार संघका महासचिव जितेन्द्रबहादुर चन्दको चुनावी घोषणा सभामा उद्घोषकको भुमिका सहित प्रस्तुत भएका थिए । संघका पूर्व सचिव समेत रहेका डिबी राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आईसकेपछि संघबाट अलग भएका थिए । खेलकुद ऐनले राखेपका कर्मचारीलाई राष्ट्रिय संघमा रहन नपाउने व्यवस्था गरेको छ ।
ऐनका कारण संघबाट निस्किएपनि डिबी लगायतका केही कर्मचारी संघका एकाध ब्यक्तिलाई बोकेर चुनावी चलखेलमा लागेका छन् । चन्दको चुनावी घोषणा सभा र चुनावी अभियानमा सक्रिय भएर लाग्ने अर्का कर्मचारी जगदिश भट्ट हुन् । राखेपको सहायक प्रशिक्षक पदमा कार्यरत भट्टले राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा काम गर्दै आएका छन् । चुनावको संघारमा उनी संघका महासचिव जितेन्द्र चन्द जिताउ अभियानका मुख्य अभियानकर्ता बनेका छन् । उनले चन्दको पक्षमा जिल्ला र केन्द्रका प्रतिनिधिसँग लबिङ गर्ने र मतदानका लागि दबाब दिने काम गर्दै आएका छन् ।
राखेपका कानुन विभागका एक वरिष्ठ अधिकृतले राखेपको कर्मचारी भएर राजनीतिक गतिविधिमा भाग लिन नमिल्ने बताए । उनले परिषद्का कर्मचारीको राजनीतिक सक्रियता आचरण विपरितको कार्य हुने उल्लेख गरे ।
‘कुनैपनि व्यक्ति, विशेषको राजनीतिक गतिविधिमा कर्मचारी प्रत्यक्ष र सार्वजनीक रुपमा सरिक हुनु दण्डहिनताको पराकास्टा हो । नीजामती ऐन र खेलकुद ऐनलेनै कर्मचारीलाई राजनीतिमा भाग लिन नहुने प्रस्ट व्यवस्था गरेको छ ।’ ती अधिकृतले भने ।
चुनावी घोषणा सभामा नेपाली उद्घोषकको भुमिकामा थिए भने भट्ट आगन्तुकको व्यस्थापनको भुमिकामा देखिएका थिए । नेपालीले उद्घोषणको क्रममा पदीय जिम्मेवारीमात्र भुलेनन्, चन्दलाई जिताउन पोखरादेखि काठमाडौंसम्म आएको सगौरव सुनाएका थिए । भट्ट भने घोषणा सभा कार्यक्रममा आएका पाहुनालाई मन्तव्यको क्रममा ‘पोडियम’सम्म लैजाने र भाषण सकिएपछि आसनसम्मै छाड्ने जाने भुमिकामा थिए । परिषद्का दुई कर्मचारी नेपाली र भट्ट भलिबल संघमा चन्द निकटका मानिन्छन् । चन्दसँग मिलेर संघभित्र पर्याप्त अवसर लिने गरेको आरोप दुवैलाई लाग्ने गरेको छ ।
राखेप प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले कुनैपनि कर्मचारी देखिने गरि कसैको चुनावी कार्यक्रममा सहभागी हुन नमिल्ने बताउँछन् ।
‘उजुरी नपर्दा सम्म केही गर्न मिल्दैन । तर देखिने गरि कुनैपनि कर्मचारी प्रचार प्रसारमा संलग्न हुनु हुदैन । अफिस बाहिर गरेको गतिविधि नदेखिएको हो । तर ऐनमै परिषद्का कर्मचारी राष्ट्रिय संघमा बस्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ ।’ बस्नेतले खेलपाटीसँग भने ।
‘चुनावी कार्यक्रममा उद्घोषणनै नगरेको भए हुन्थ्यो भन्नेसम्मको कुरा आएको छ । आइन्दा चुनावी कार्यक्रममा सहभागी नहुनु भनेर सबै कर्मचारीलाई पत्र पठाईसकेका छौं ।’ उनले भने ।