काठमाडौं । देश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको दुई दिने कार्यशालाको सोमबार सम्पन्न भएको हो । प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सञ्चालन गरिएको कार्यशालामा विभिन्न खेलका २१ मुख्य प्रशिक्षक र ८ सहायक मुख्य प्रशिक्षकको सहभागिता थियो ।
कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्यांकन, प्रतियोगिता व्यवस्थापनलगायतका विविध पक्ष बारे जानकारी गराएका थिए ।
दुईदिने कार्यशालाका सहभागीहरुलाई आयोजक विभागका निर्देशक रिमबहादुर रानाभाट, प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका सचिव इन्द्र कार्कीले प्रमाण पत्र, ट्रयाकसुट र ब्याग प्रदान गरेका थिए ।