काठमाडौं । गैर आवसीय नेपाली संघ एनआरएन टिमले व्यक्तिगत स्पर्धामा मात्र राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार एनआरएनको टिमबाट सहभागि हुने प्रतिस्पर्धीले व्यक्तिगत स्पर्धामा मात्र खेल्न पाउने व्यवस्था गरेको हो ।
सरकारले विदेशमा रहेका राम्रा खेलाडीलाई समावेश गर्न भन्दै प्रत्येक दुई बर्षमा आयोजना गर्ने भनिएको राष्ट्रिय खेलकुदमा एनआरएनको टिमलाई सहभागिताको अवसर दिएको छ ।
सरकारले विभागीय टिम अनुसारनै एनआरएनको टिमलाई समेत राष्ट्रिय खेलकुदमा सहभागि गराउने निर्णय गरेको हो ।
संघीय संरचना अनुसार पहिलो पटक हुन गईरहेको आठौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनको एक टिमलाई सहभागि गराउने सरकारले निर्णय लिएको छ ।
‘टिम ईभेन्टमा सहभागि गराउदाँ व्यवस्थापनको चुनौती देखियो ।’ मन्त्रालय स्रोतले भन्यो, ‘सोही कारण राष्ट्रिय खेलकुदमा एनआरएन टिमबाट व्यक्तिगत स्पर्धामा मात्र प्रतिस्पर्धा गर्न पाईने व्यवस्था गरिएको छ ।’
मन्त्रालयले पारित गरेको निर्देशिका अनुसार एनआरएन टिमबाट प्रतिस्पर्धा गर्न आउने सहभागीले अब टिम स्पर्धामा भाग लिन पाउने छैनन् ।
सोही व्यवस्थालाई समेट्दै गर्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७५ पारित गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले संघीय संरचना अनुसार पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका पारित गरेको हो ।
नयाँ व्यवस्था अनुसार राष्ट्रिय प्रतियोगितामा सहभागि खेलाडीले मात्र अन्तराष्ट्रिय प्रतियोतिगतामा नेपालको प्रतिनिधित्व गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।
प्रत्येक पटक राष्ट्रिय खेलकुदको छुट्टा छुट्टै निर्देशिका बनाउदै आएको मन्त्रालयले अब एउटै निर्देशिकाबाट राष्ट्रिय खेलकुदका प्रतियोगिता सञ्चालन गर्नेछ ।
मन्त्रीपरिषद्ले दिएको अधिकार अनुसार युवा तथा खेलकुद मन्त्रालयले सो निर्देशिका पारित गरेको हो ।