काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडी गजेन्द्र रानालाई १० लाख आर्थिक सहयोग गरिएको छ ।
जन्मघर सुर्खेत भएका गजेन्द्रले तलब भत्ता नलिएर दयनीय अवस्थामा रहेको स्कुललाई नमुना स्कुल बनाउन सफल भएको भन्दै उनलाई १० लाख नगद सहितको आर्थिक सहयोग गरिएको हो ।
गजेन्द्र रानाको संघर्षको कथा, ‘हेर्ने कथा’ नामक भिडियो डकुमेन्ट्रीमा सार्वजनीक भएपछि अमेरिकामा रहेका एन्फा एकेडेमीका पहिलो ब्याजका खेलाडी प्रलय राजभण्डारी लगायतका खेलाडीले नगद संकलन अभियान सञ्चालन गरेका थिए ।
अभियानबाट संकलित करिब १० लाख रुपैयाँ र ल्यापटप लगायतका सामाग्री आईतबार एक कार्यक्रमको आयोजना गरेर गजेन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
एन्फाका पुर्व अध्यक्ष गणेश थापाले सहयोग रकम गजेन्द्रलाई हस्तान्तरण गरेका थिए । एन्फा पुर्व अध्यक्ष थापाले गजेन्द्रको अभियानमा सहयोग गर्न भन्दै साफमा स्वर्ण जितेवापत राखेपबाट प्राप्त हुदै आएको मासिक ५ हजार रुपैयाँ दुई बर्षसम्म गजेन्द्रलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।