काठमाडौं । आसन्न शहीद स्मारक डिभिजन लिगको ब्यवसायीक प्रायोजनका लागि तीन कम्पनीले आवेदन दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माग गरे अनुसार कमर्सियल र मार्केटिङ अधिकार, डिजिटल र ब्रोडकास्टिङ अधिकार र गेट टिकटका लागि तीन कम्पनी टेण्डरमा सहभागी बनेका हुन् ।
एन्फाका एक अधिकारीका अनुसार लिगको ब्यापार लिन हन्ड्रेड स्पोर्टस्, गोर्खा स्पोर्टस र इमसी स्पोर्टस म्यानेजमेन्ट कम्पनीले आवेदन दिएका छन् । एन्फाले दोस्रो पटक सात दिनको समय दिएर प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।
सुरुवातमा माघ ६ गते इ बिडिङमार्फत एन्फाले टेण्डर आह्वान गरेको थियो । दोस्रो पटक आह्वान अनुसार आएको प्रस्तावमा एन्फाले माग गरे अनुसारको मुल्य कम्पनीहरुले हालेका छैनन् । आवेदन हाल्ने तीन कम्पनी मध्य भारतीय कम्पनी हन्ड्रेड स्पोर्टस्ले सर्वाधिक १ करोड ५० लाख रुपैयाँको टेण्डर हालेको छ ।
एन्फाको कार्यसमिति बैठकले टिकेटिङको अधिकारका लागि न्युनतम १ करोड ५० लाख रुपैयाँ, शीर्षक प्रायोजक बाहेककोे कमर्सियल र मार्केटिङ अधिकारका लागि न्युनतम १ करोड ५० लाख रुपैयाँ तथा ब्रोडकास्टिङ अधिकारका लागि न्युनतम ६० लाख रुपैयाँ तोकेर टेण्डर निकाल्ने निर्णय गरेको थियो । सोही अनुसार ए, बी र सी गरि तीन डिभिजन फुटबलका लागि न्युनतम तीन करोड ६० लाख रुपैयाँ राखेर टेण्डर आह्वान गरिएको थियो ।
यस वर्ष डबल राउण्ड रोबिनका आधारमा लिग सञ्चालन हुदैछ । खेल संख्या बढ्ने भएकाले टिकेटिङ, ब्रोडकास्टिङ र कमर्सियल अधिकारका लागि मुल्य वृद्धि गर्दै एन्फाले टेण्डर आह्वान गरेको थियो । एन्फाले इ बिडिङमार्फत आह्वान गरेको टेण्डरमा कुनै कम्पनीले पनि आवेदन दिएका थिएनन् ।
‘एन्फाको माग अनुसारको कम्पनीले बिट गरेको अवस्था छैन । के गर्ने भन्ने विषयमा सचिवालयले समिक्षा गरिरहेको छ । छलफल गरिरहेको छ । नयाँ टेण्डर निकाल्ने कि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’ एन्फा स्रोतले भन्यो ।