काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि गठित निर्वाचन समितिले चार भोट बदर गर्ने निर्णय गरेको छ ।
मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा निर्वाचन समितिले सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको मताधिकार बदर गर्ने निर्णय गरेको हो ।
प्राप्त उजुरीको आधारमा छानविन गर्दा सिरहाका प्रविण यादव, फ्रेन्ड्स क्लबका दिपक थापा, सरस्वती क्लबका उत्तम भण्डारी र महिला संघकी पेमा डोल्मा लामाको भोट बदर गर्ने निर्णय निर्वाचन समितिले गरेको हो ।
बदर भएका चारै भोट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षका छन् ।
सिराहाका प्रविण यादव, फ्रेन्ड्सका दिपक थापा, महिला संघकी पेमा डोल्मा लामा एन्फा अध्यक्ष शेर्पा प्यानलबाट केन्द्रिय सदस्यका उम्मेदवार थिए । सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली शेर्पा प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवार हुन् । सोही क्लबका प्रतिनिधि उत्तम भण्डारीको मत अयोग्य ठहरिएको हो ।
निर्वाचनको समितिको पछिल्लो निर्णयले अध्यक्षमा दोहरिने तयारी गरेका शेर्पालाई गम्भिर धक्का लागेको छ । यद्धपी निर्वाचन समितिको निर्णयविरुद्ध अपिल कमिटीमा जाने विकल्प शेर्पा समूहलाई छ ।
एन्फा निर्वाचन समितिका सदस्य बद्री भट्टराईले जम्मा १३ वटा उजुरी आएको खेलपाटीलाई बताए । उनको अनुसार जम्मा ११ वटा उजुरीमाथि छलफल गर्दा ४ वटा दाबी विरोध सदर भएको छ ।
निर्वाचन समितिको पछिल्लो निर्णयसँगै एन्फाको आसन्न निर्वाचनमा ८१ भोट भएको छ ।
सिराहाका प्रविन यादव एन्फा केन्द्रिय सदस्य समेत भएकाले मताधिकार लिन नमिल्ने दाबी सहित उजुरी परेको थियो । कार्यसमितिका सदस्य मताधिकार हुन नपाउने निर्वाचन निर्देशिका अनुसार यादवको मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, फ्रेन्ड्स क्लबका दिपक थापाले एन्फाको निर्वाचन प्रक्रिया सुरु भैसकेको अवस्थामा राजीनामा दिएको र महासचिवबाट राजीनामा स्विकृत भएको देखिएकाले उनको मताधिकार अयोग्य हुने निर्वाचन समितिको निर्णय छ ।
सरस्वती क्लबका उत्तम भण्डारी एन्फा अन्तर्गतको स्थायी कमिटी सामाजिक उत्तरदायित्वको संयोजक रहेकाले मताधिकार हुन नपाउने उजुरीमाथि निर्वाचन समितिले एन्फा निर्वाचन निर्देशिका अनुसार मताधिकारलाई बदर गरेका हो ।
यस्तै, महिला संघबाट निर्वाचन समितिलाई प्राप्त मताधिकारको माइन्युट र पत्र तथा एन्फा सचिवालयबाट प्राप्त माइन्युट र पत्र फरक फरक देखिएको भन्दै निर्वाचन समितिले महिला संघबाट सिफारिस पेमा डोल्मा लामाको मताधिकारलाई रद्ध गर्ने निर्णय गरेको हो ।
वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ पक्षका बाँसबारी क्लबको कीर्ते माइन्युट, रौतहटको मनकामना क्लब, कैलालीको सिटी क्लब, सुर्खेतका रविन चन्दको मताधिकार माथि परेको दाबी विरोधमा निर्वाचन समितिले प्रमाण पुग्ने नदेखिएको भन्दै दाबी विरोधलाई बदर गर्ने निर्णय गरेको छ ।
एन्फाको निर्वाचन समितिले निर्णय उपर चित्त नबुझेमा पुनरावेदन समितिमा जान सकिने उल्लेख गरेको छ ।
यो पनि, एन्फा चुनावका ‘प्लेईङ एघार’