काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाइ स्कुलले विद्यालय स्तरका खेलाडीहरूमा पोषण, चोटपटक र कार्डियोको प्रभावबारे वर्कशप आयोजना गरेको छ । करिब ४ दशक अघि स्थापना भएको स्कुलले तीन दिने वर्कशप शुक्रबार सम्पन्न गरेको हो ।
जुनियर फुटबल एकेडेमी (जेएफए स्पोर्टस् प्रा. लि.)को सहकार्यमा नेपाली खेलकुदको क्षेत्रमा काम गर्दै आएका दुई डाक्टरहरुको उपस्थितिमा स्कुलले कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमका फिजियोथेरापिस्ट समेत रहेका स्पोर्टस् फिजियोथेरापिस्ट डा. उज्वल डोटेल तथा एमपीटी कार्डियोरेस्पिरेटोरी फिजियोथेरापिस्ट डा. आशिस गुरुङले विद्यालय खेलकूदमा सहभागिता जनाउँदै आएका खेलाडी तथा उनीहरुका अभिभावकहरुलाई विषयबारे जानकारी दिएका थिए ।
वर्कशपमा खेलको दौरान हुनसक्ने सम्भावित दुर्घटना र सो समयमा नजिकै रहेकाले कसरी उद्धार कार्य गर्ने भन्ने जानकारी प्रस्तुत गरिएको थियो। उनीहरुले चोट न्यूनिकरणको लागि खेलाडीहरुले ध्यान दिनुपर्ने कुराहरु, सावधानी अपनाउँदा पनि हुने दुर्घटनामा के गर्ने ?, बारम्बार चोट लागेको अवस्थामा के गर्ने ? जस्ता कुराहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले प्रस्तुत गरेका थिए ।
विद्यालयस्तरमा नै खेलाडी तथा अभिभावकहरुलाई पोषण, चोटपटकबाट बच्ने उपाय तथा कार्डियोबारे जानकारी दिएमा उनीहरु अहिलेदेखि नै सचेत बन्ने र खेलाडी बन्ने सपनामा सघाउ पुर्याउने भएकोले वर्कशपको आयोजना गरेको स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठले जानकारी दिइन् ।
गुणस्तरिय औपचारिक शिक्षासँगै स्कुलले अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई निरन्तर सहभागी गराइरहन र नतिजा ल्याउनको लागि यस्ता कार्यक्रम गरिरहने श्रेष्ठको भनाई छ ।