काठमाडौं । नेपाली रग्बी टोलीले पहिलो पटक रग्बी १५ को आधिकारिक खेल खेलेको छ।
बंगलादेशको ढाकाको आर्मी रंगशालामा बुधबार घरेलु टोलीविरुद्ध मैदान उत्रदै नेपालले रग्बी १५ मा डेब्यु गरेको हो ।
बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी १५ खेल हो ।
कप्तान कृष्ण थापा क्षेत्रीको कप्तानीमा रहेको नेपाल डेब्यु खेलमा ३१-७ स्कोरले पराजित भयो । खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो।
तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दवावमा राख्यो।
यद्यपी खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्ण रुपमा नियन्त्रण राख्यो र एक ट्राई (५ अंक) हान्न सफल भयो।
विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन्। यो संगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने।
ट्राई गरेपछि सिधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सिधा हान्ने) को अवसर पाउँछ। श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो।
यससँगै 'बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२२' बंगलादेशको पोल्टामा परेको छ ।
खेलपछि नेपाली प्रशिक्षक टंक राज गिरीले यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको र अब नेपालको रग्बीमा अगाडी वढ्ने ढोका खुलेको बताए ।
नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ। विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो।
त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ।
कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि भने 'रग्बी सेभन खेलेको दशक वढी भइसक्यो। तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाएँ। ज्यादै खुशी छु। अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुनेछ।'
नेपाल अहिलेसम्म डिभिजन विहिन छ। रग्बी १५ खेलेपछि अब त्यो बाटो खुल्नेछ।