काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत एघारौं दिन मंगलबार नेपालले कुनै चमत्कार गर्न सकेन् । आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले अघिल्ला ९ दिन झैँ सुन्य पदकको यात्रा कायम राख्यो ।
नेपालले मंगलबार पाएको ठुलो सफलतामा प्याराग्लाइडिङमा चौथो चरण सकिदा दोस्रो हुनु रह्यो । नेपालले बुधबार अन्तिम चरणको प्रतिस्पर्धा गर्नेछ । उक्त चरण उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले पहिलो पदक जित्नेछ ।
यस्तै मंगलबार नेपाली पुरुष भलिबल टोलीले मंगोलियालाई हरायो । यसबाहेक अन्य खेलमा नेपालको प्रदर्शन उच्च हुन सकेन । आजबाट कुराँसमा नेपालको चुनौती सकियो ।
नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ९७ स्वर्णसहित कुल २०६ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ४३ स्वर्णसहित कुल १४२ पदक जितेको छ । ३२ स्वर्णसहित कुल ११८ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।
नेपालको ११ औं दिन कस्तो रह्यो ?
कुराँस :
कुराँसमा नेपालको चुनौती समाप्त भएको छ । पुरुष ६६ केजीमुनिको अन्तिम ३२ को खेलमा नेपालका उपेन्द्र थापाले पाकिस्तानका खेलाडीलाई १–० ले पराजित गरे । प्रिक्वाटरफाइनलमा भने उपेन्द्र उज्वेकिस्तानका खेलाडीसंग १०–० ले हारे ।
महिलाको ५२ केजीमुनिको पहिलो चरणमा नेपालकी भगवती माझी चाइनिज ताइपेईंकी खेलाडीसंग १०–० ले पराजित भइन् ।
सेपाकताक्रो :
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपाल भियतनामसंग २–० ले पराजित भयो । पुरुष रेगु स्पर्धामा भने नेपालको चुनौती समाप्त भएको छ ।
स्केटबोर्ड :
स्केटबोर्डको पुरुष स्ट्रिट स्पर्धामा नेपालका नेरिश थापा १५ औं भएका छन् । १८ खेलाडी सहभागी पहिलो चरणमा नेरिश १५ औं भएका हुन् ।
प्लाराग्लाइडिङ :
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोश्रो स्थानमा उक्लिएको छ । नेपालको कुल २७ सय ९८ अंक छ ।
पहिलो स्थानमा रहेको जापानको ३२ सय ९८ अंक पुगेको छ । २१ सय ९२ अंकमा दक्षिण कोरिया तेश्रो स्थानमा छ ।
सोही स्पर्धाको महिलामा नेपाल छैटौं स्थानमा छ । नेपालको २ सय १६ अंक छ । दक्षिण कोरिया पहिलो, जापान दोश्रो र आयोजक इन्डोनेसिया तेश्रो स्थानमा छन् ।
स्क्वास :
नेपालले पुरुष टिम इभेन्टमा जापानसंग ३–० ले पराजित भएको छ । यसअद्धि नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग पनि ३–० ले पछि परेको थियो ।
एथलेटिक्स :
नेपालकी विश्वरुपा बुढाले १५ खेलाडी सहभागी महिला ५ हजार मिटर दौडमा १३ औं स्थान हासिल गरिन् । विश्वरुपाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरिन् ।
भलिबल :
पुरुष भलिबलको १२ देखि १८ औं स्थानको वरीयता निर्धारण गर्न भएको प्रतिस्पर्धामा नेपालले मंगोलियालाई २६–२८, २५–१६, ३०–२८ र २५–१९ को सेटमा पराजित गर्यो ।