काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत आठौं दिन शनिबार पनि नेपालले पदक जित्न सकेन ।
पदकको आशा गरेको करातेमा नेपालका दुई खेलाडी कास्य पदक नजिक पुगेर पराजित भए । जसको कारण शनिबार पनि नेपालले पदक बिहिन यात्रा कायम राख्यो । करातेकी चन्चला दनुवार र रिता कार्कीले कास्य पदकको भिडन्तमा पराजित भएकी हुन् ।
आधा दर्जन खेलमा सहभागी नेपालले करातेमा बाहेक अन्य खेलमा उच्च प्रदर्शन गर्न सकेनन् । बक्सिङ नेपालको प्रदर्शन खराब रह्यो । एथलेटिक्सको म्याराथनमा दुई खेलाडीले दौड पुरा गर्न सकेनन् । एथलेटिक्समै नेपालकी विश्वरुपा बुढाले समयमा नाम दर्ता नगर्दा खेल्न पाइनन् ।
एसियन गेम्समा नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ७२ स्वर्णसहित कुल १५३ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ३४ स्वर्णसहित कुल १०९ पदक जितेको छ । २५ स्वर्णसहित कुल ८४ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।
नेपालको दोस्रो दिन कस्तो रह्यो ?
ब्याडमिन्टन :
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ शनिबार पराजित भएकी छन् ।
प्रिक्वाटरफाइनलमा नङशल जापानकी अकाने यामागुचीसंग २१–७ र २१–१२ को सोझो सेटमा पराजित भइन् । पुरुष डबल्सको प्रिक्वाटरफाइनलमा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी मलेसियाका जोडीसंग २१–९ र २१–१२ को सोझो सेटमा हारे । उक्त खेलसंगै ब्याडमिन्टनमा नेपालको चुनौती समाप्त भएको छ ।
आर्चरी:
आर्चरीको रिकर्भ पुरुष टिममा नेपाल ताइपेइसंग ६–० ले पराजित भएसंगै आर्चरीमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । त्यसअघि नेपाली टिमले कतारलाई ६–० ले हराएको थियो ।
बक्सिङ :
बक्सिङको दोश्रो दिन ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पहिलो खेलमा हार व्यहोरे । पुरुष ४९ केजीमा नेपालका तेजबहादुर देउजा लाओसका खेलाडीसंग ३–१ तथा नेपालका भुपेन्द्र थापा जोर्डनका खेलाडीसंग ४–० ले पछि परे । महिला ६० केजीमा चीनकी खेलाडीले नेपालकी पुनम रावललाई ५–० ले निराश पारिन् ।
कराते :
करातेको पुरुष एकल कातामा नेपालका पर्शुराम बाँस्तोला पराजित भएका छन् । उनलाई कतारका अधम हसेलले ५–० ले पराजित गरे ।
सोही स्पर्धाको महिलामा नेपालकी चन्चला दनुवार पनि कांस्य पदकको रिपाजे भिडन्तमा थाइल्यान्डकी मोन्सिचा तारारात्तानकुलसंग ५–० ले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा चन्चला मकाउ चीनकी लाम्सोइ साउसंग ५–० ले पराजित भएकी थिइन् । अर्को रिपाचे बाउटमा भने चन्चलाले कोरियाकी उइ जि काङलाई ३–२ ले पन्छाएकी थिइन् ।
महिला ६८ केजीमाथि क्वाटरफाइनलमा नेपालकी रिता कार्की चीनकी मेङमेङ साउसंग ३–० ले पराजित भइन् । कांंस्य पदकको रिपाजे बाउटमा पाकिस्तानकी नर्गिसले रितालाई ३–१ ले पाखा लगाइन् ।
एथलेटिक्स :
एथलेटिक्सतर्फको म्याराथनमा नेपालका गोपिचन्द्र पार्की र कृष्ण बहादुर बस्नेतले दौड पुरा गर्न सकेनन् । यस्तै १०० मिटर दौडमा याम साजन सुनार पहिलो चरणबाट बाहिरिए । महिला १० हजार मिटरमा नाम दर्ता नगर्दा विश्वरुपाले दौडमा सहभागिता जनाउन पाएनन् ।