काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
केन्द्रीयस्तरको यो प्रतियोगितामा विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख मिनकुमार शर्माले जनाएका छन् । एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डीमा प्रतिस्पर्धा हुनेछ ।
चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहने प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्र÷छात्राको टिमले भाग लिने छ । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाउने छन् । तेक्वान्दो र उसुमा समान ४८–४८ खेलाडीले समान ६–६ स्वर्णका लागि भिडन्त गर्ने छन् ।
एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्य कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा खेलाइने छ ।
व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पुरस्कार दिइने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।