बुवा - गजेन्द्र भण्डारी
आमा- लक्ष्मी भण्डारी
काठमाडौं । नेपालले १३ औं सागमा ऐतिहासिक पदक जित्दा राष्ट्रिय महिला भलिबल टिमकी महत्वपूर्ण सदस्य हुन्, उषा भण्डारी ।
टिमकी कान्छी खेलाडीको रुपमा नाम कमाएकी उषाले सागमा बंगलादेशविरुद्धको खेलबाट अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिईन् ।
पछिल्लो समय घरेलु भलिबलमा उषा थप चर्चामा छिन् । विभागीय टिम पुलिसमा आबद्ध उषाकै प्रेरणादायी प्रर्दशनमा टिमले उपाधि जितिरहेको छ । पीएम कप, दिदीबहिनी कप र टाइगर कपजस्ता पछिल्ला प्रतियोगितामा सफलता हात पारेको छ ।
विभाग पहिलो पाठशाला
तनहुँ भिमातमा जन्मिएकी उषा दोस्रो सन्तान हुन् । उनले १२ वर्षको उमेरमा होली गार्डेन स्कुलबाट भलिबलमा पाइला टेकेकी थिईन् । उनी त्यो समय मात्र ६ कक्षामा पढ्थिन् ।
कम उमेरमै उच्च कद भएकी उषालाई ढोरपाटनका अध्यक्ष मानवीर छन्त्यालले भलिबलमा लाग्न सुझाएका थिए । उनलाई छन्त्यालले पुलिसमा लिएर गए । त्यसपछि उषाको भलिबल यात्राको सुरुवात भएको हो ।
सुरुवाती एक हप्तासम्म उनले खेलको अवलोकन गरिन् । त्यसपछि निर्णय गरिन्, बाँकी जिवन भलिबलमै बिताउने ।
उनले विभागीय टिमबाट पहिलोपटक एनभीए कप प्रतियोगिता खेलेकी थिईन् । उनले अभ्यास सुरु गरेको एक महिनामै ढोरपाटन खेलिन् । त्यो समय उनलाई भलिबलको नियम पनि राम्रोसँग थाहा थिएन । तैपनि डिफेन्स राम्रो भएकाले मौका पाईन् ।
सुरुवातमा उषा बलले लाग्छ भनेर डर मान्थिन् । बेन्चमै बस्थिन् । उनलाई बेन्चमा बसेर खेल हेर्न रमाइलो पनि लाग्थ्यो ।
दुर्भाग्यवश उनी ढोरपाटन खेल्ने क्रममा घाइते हुन पुगिन् । खुट्टा प्लास्टर नै गर्नुपर्यो ।
खेल्न सुरु गरेको कम समयमा नै चोट बोक्दा उनी निराश थिईन् । उनलाई डाक्टरले दुई हप्तासम्म आराम गर्न सुझाए । उषाको मनले आराम गर्न मानेन । उनी एक हप्तामै मैदान ओर्लिन पुगिन् ।
‘भलिबलमा पहिलेदेखि नै रुचि थियो । त्यसैले जति खेल्यो, त्यति रमाइलो हुने । सुरुमा नै घाइते हुँदा यस्तो पनि हुँदो रहेछ भनेर दुख लाग्यो । तर मैले एक हप्तामै निस्किएर खेल्न आए ।’ उनले भनिन् ।
उनी ढोरपाटनको प्रतियोगितामा उत्कृष्ट स्पाइकर पनि चुनिईन् । जुन उनले सोचेकी थिईनन् । ‘त्यो बेलामा मेरो खेल राम्रो भएको थिएन । पाउँछु भन्ने आश पनि थिएन । तर पाए ।’ उषा भन्छिन् । बिस्तारै उषाको खेल निखारिदै गयो । उनी पुलिसकी भरपर्दो र मुख्य स्पाईकर बन्न सफल भएकी छिन् ।
उनी राष्ट्रिय भलिबल टिमकी उदयमान खेलाडी हुन् ।
उनले हालसम्म थुप्रै प्रतियोगितामा व्यक्तिगत विधाको अवार्ड पाएकी छिन् । जसमध्ये पीएम कपमा सर्वाेत्कृष्ट खेलाडी, एनभीए कपमा उदयमान खेलाडी, गत महिना सम्पन्न टाइगर कपमा उत्कृष्ट खेलाडी, मुख्य मन्त्री कप भलिबलमा उत्कृष्ट स्पाइकर र पीएम कपमा उत्कृष्ट स्पाइकरको अर्वाड उनलाई खास लाग्छ ।
बाबा पहिलो प्रेरणा
उषाको प्रेरणाको स्रोत बुवा गजेन्द्र भण्डारी हुन् । जहाँ उषाको खेल, त्यहाँ बुवा गजेन्द्र पुगिहाल्छन् । उनले जति प्रतियोगिता खेलेकी छिन्, सबैमा उषालाई हौसला दिन गजेन्द्र पुगेका हुन्छन् । उषा भलिबलमा लाग्नुको श्रेय पनि उनका बाबालाई नै जान्छ ।
‘आज जहाँ छु, त्यसको देन बाबाकै हो ।’ उषा भन्छिन् ।
उनका बाबा कामको सिलसिलामा विदेशमा थिए । रमाइलोका लागि भलिबल खेल्ने गर्थे । खेल्ने क्रममा उनी घाइते हुन पुगे । नेपालमा आएर पनि खेल्ने मौका पाएनन् । तर उनले आफ्नी छोरीको उच्च कदको कारण भलिबल सिकाउने योजना बनाए । भलिबल प्रतियोगितामा खासै नदेखिने गजेन्द्र ढोरपाटनका मानवीरसंग १२ औं दक्षिण एसियाली खेलकुद हेर्न गएका थिए । खेलाडीको प्रर्दशनबाट गजेन्द्र लोभिए । उनले पनि छोरीलाई भलिबल खेलाउने संकल्प गरे ।
‘तिम्रो र मेरो खेल्ने आधार उस्तै छ । जब मैले एक महिनामा सिके, तिमीले पनि त्यहीं एक महिनामा सिक्यौ । मैले जस्तो गरे, तिमीले पनि त्यस्तै गर्यौं । तिम्रो हरेक कदममा साथ दिन्छु ।’ बुवाले भनेको कुरा उषा सम्झिन्छिन् ।
गजेन्द्रको साथ उषालाई मात्र नभएर जेठी छोरी अस्मितालाई पनि छ । उषाकी दिदी जुडोकी खेलाडी हुन् । अस्मिताले पुलिसबाट खेल यात्रालाई निरन्तरता दिइरहेकी छिन् ।
प्रतियोगिता धेरै
कोरोनाको संक्रमण कम हुने बित्तिकै घरेलु खेलकुदमा भलिबल प्रतियोगिताको लर्को लागेको छ । एकपछि अर्का प्रतियोगिता भईरहेका छन् । यसले खेलाडीलाई मैदानमा फर्कन सहयोग गरेको छ । तर खेलाडीको शारीरिक, मानसिक अवस्थाबारे धेरैले सोचेका छैनन् । उषा लगातार प्रतियोगिता हुँदा खेलाडी घाइते हुने सम्भावना बढी भएको बताउँछिन् ।
‘लगातार प्रतियोगिता भइरहेको छ । राम्रोसँग स्कुल जान सकिरहेको छैन । यसरी खेल राख्दा बढी घाइते हुने सम्भावना रहन्छ । खेलाडी धेरै घाईते हुनुको कारण पनि यहीँ हो ।’ उनले भनिन् ।
व्यस्त तालिकाको कारण पढाई र खेललाई समान रुपमा अघि बढाउन नसकेको उषा बताउँछिन् । ‘पढाईलाई प्राथमिकता दिदाँ खेल बिग्रने, खेलमा केन्द्रित हुदाँ बढाई बिग्रने । समान रुपमा राख्न सकिरहेको छैन ।’ उषा भन्छिन् ।
खेलमा भविष्य
उषालाई पनि सुरुवातमा भलिबलमा भविष्य छैन भन्ने लाग्थ्यो । तर राष्ट्रिय टिममा परेपछि केही हदसम्म सुधार र विकास भएको उनी बताउँछिन् ।
‘सिनियर दिदीको कुरा सुन्दा केही छैन जस्तो लाग्थ्यो । तर जब म नेपालको टिममा परे, त्यहाँको सुविधा हेर्दा पहिलाभन्दा राम्रो भइरहेको छ । अब भविष्य छ जस्तो लाग्छ ।’ उनी भन्छिन् ।
‘सरकारले खेलाडीलाई विस्तारै राम्रो गरेको जस्तो लाग्छ, अझ बढी गर्दियो भने थप राम्रो हुन्छ ।’ उनले थप्छिन् । ढोरपाटनमा घाइते भएकी उषाको चोट अझै पनि बल्झिने गर्छ । भाग्यको कुरा भन्दै सुरुवातमा उनले स्विकार गरिन् । तर बेला बेलामा बल्झिने दुखाईले उनलाई धेरै असर गरेको छ ।
अन्तिम समयसम्म भलिबल खेल्छु भन्ने उषालाई पहिलो चोट नलागेको भए अझ राम्रो खेल्थे भन्ने लाग्छ । ‘भलिबल खेल पावर खेल पनि हो । र इच्छा गरेको खेलपनि हो । तर जति खेल्यो उती खेल्न मन लाग्छ । चोट नलागेको भए अझ राम्रो खेल्थे भन्ने लाग्छ ।’ उनी भन्छिन् ।