पोखरा । नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्।
पार ६९ को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५–अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे । समग्रमा १–अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङलाई २ स्ट्रोकले हराउँदै करियरको नवौं उपाधि जितेका हुन् । उपाधिसँगै उनले १ लाख ४० हजार प्राप्त गरे।
१३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले अन्तिम दिन २–ओभर ७१ खेल्दै समग्रमा १–ओभर २ सय ८ सहित दोस्रो भए। एमेच्योरतर्फ भने सुवासले उपाधि जिते। उनले अजित बिकेलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराए।
प्रोफेसनलतर्फ भुवन नगरकोटी र सञ्जय लामा ३–ओभर २ सय १० स्कोर सहित संयुक्तरुपमा दोस्रो भए। आज भुवनले ३–ओभर ७२ र सञ्जयले २–ओभर ७१ खेले। दुवैले ७८ हजार पाँच सय नगद प्राप्त गरे। इभन–पार ६९ सहित समग्रमा ५–ओभर २ सय १२ को स्कोरमा जयराम श्रेष्ठ चौंथो भए। उनले ५५ हजार हात पारे।
भेट्रान गल्फर रामे मगरले अन्तिम १८ होलको खेल ५–ओभर ७४ मा सकाउँदै समग्रमा ६–ओभर २ सय १३ स्कोर सहित पाँचौ हुँदा ४७ हजार नगद पुरस्कार प्राप्त गरे। १–ओभर ७० खेल्दै समग्रमा ९–ओभर २ सय १६ सहित भुवन कुमार रोक्का छैटौं भए। यो सिजनको सुर्य नेपाल म्याच प्लेका विजेता दिनेश प्रजापति भने समग्रमा सातौं भए। उनले आज १–ओभर ७० खेले। छैटौ र सातौं भएका भुवन र दिनेशले क्रमशः ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे।
१२–ओभर २ सय १९ सहित दल बहादुर लामा र धन थापाले संयुक्तरुपमा आठौं स्थान बाँडे। दुवैले ३३ हजार हात पारे। यसैगरी १३–ओभर २ सय २० को स्कोर सहित रबि खड्का र निरज तामाङ संयुक्तरुपमा दशौं हुदै २८ हजार ५ सय प्राप्त गरे।