काठमाडौं। इलाइट स्पोर्टस र नारायणटार स्पोर्टस हाउस बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा शनिबार भएको सेमिफाइलनल भिडन्तमा इलाइटले लशुनटार युथ क्लबलाई ४–० तथा नारायणटार स्पोर्टस हाउसले एजे इन्टरप्राइजेजलाई ४–१ ले पराजित गर्दै फाइलन भिडन्त पक्का गरेका हुन् ।
इलाइटलाई जिताउन म्याक्सवेल एक्लैले चार गोल गरे । खेलको सुरुआतबाटै दबाबामा राख्न सफल इलाइटका लागि म्याक्सवेले खेलको १५, १८, २८ र ३४ औं मिनेटमा गोल गर्दै अन्तिम दुई यात्रा तय गराएका थिए ।
शनिबारै सम्पन्न अर्को भिडन्तमा १० औं मिनेटमा शिलाको गोलबाट लिएको अग्रता कायम गर्न नसक्दा एजे इन्टरप्राइजेज नारायणटारसँग ४–१ ले पराजित हुँदो क्वार्टरफाइलनबाटै बाहिरिन पुग्यो । १–० ले पछि परेको अवस्थामा नारायणटारका लागि सन्तोष तामाङले खेलको २६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको एक मिनेट पछि नै फेरी तामाङले गोल गर्दै २–१ को स्थितिमा ल्याएका थिए । अग्रता उल्टाउन सफल तामाङले नै खेलको ३० र ४० औं मिनेटमा थप दुई गरे र जित सुनिश्चित गराए ।
प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । नेपाल खेलकुद महासंघ बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र गोलकिपरलाई जनही ५ हजार रुपौयाँ नगद पुरस्कार पाउनेछन् ।