काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आयुष घलान, दीप कार्की र सुरज जिउ ठकुरीलाई बाहिर राख्दै इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन्।
एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्। उक्त प्रारम्भिक टोलीमा स्टार विंगर आयुष, गोलरक्षक दीप र सेन्ट्रल मिडफिल्डर सुरजको नाम समावेश गरिएको छैन। मलेसियासँग भएको मैत्रीपूर्ण खेल र फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत बहराइनसँगको दोस्रो चरणको खेलमा पनि उनीहरूलाई समेटिएको थिएन।
उनीहरूलाई बन्द प्रशिक्षणमा बोलाइए पनि बेवास्ता गरेको नेपाली राष्ट्रिय टोलीका म्यानेजर उत्तमराज भण्डारीले जानकारी दिए। ‘प्रारम्भिक टोलीमा नपरेको अहिले मात्रै हो। पहिला प्रारम्भिक टोलीमा उनीहरूको नाम समावेश थियो। तर, आउने/नआउने कुनै जानकारी नै दिएनन्। बुझ्न खोज्दा पनि सम्पर्कमै नआएपछि उनीहरू आफूखुसी अगाडि बढेको भन्ने बुझेका हौँ,’ उनले खेलपाटीसँग भने।
गत फागुन १८ गते मलेसिया र बहराइनविरुद्ध हुने खेलका लागि एनिसले आयुष, दीप र सुरजसहित ३३ जनालाई प्रारम्भिक टोलीमा बोलाएका थिए।
तर, मलेसिया उड्नुभन्दा अगाडि अर्थात् फागुन २९ गते घोषणा गरिएको २३ सदस्सीय टोलीमा भने यी तीन खेलाडी परेनन्। प्रारम्भिक टोलीमा नाम भए पनि उनीहरू बन्द प्रशिक्षणमा नगएको मुख्य प्रशिक्षक एनिसले जानकारी दिएका थिए।
राष्ट्र र राष्ट्रिय झन्डाको प्रतिनिधित्व गरेर जाने ठाउँमा आफूहरूले निरन्तर ‘फलो’ गर्दा पनि बेवास्ता गरेको म्यानेजर भण्डारी बताउँछन्। त्यसैले उनीहरूलाई नसमेटिएको उनको भनाइ छ।
‘राष्ट्रिय टिम, झन्डा र देशको नामको लागि प्रतिनिधित्व गरेर जाने ठाउँमा प्लेअरलाई स-सम्मान बोलाइएको थियो। नाम पनि हामीले पब्लिस गरेका थियौँ र त्यसपछि सम्पर्क पनि गरेका थियौँ,’ उनले भने, ‘बोलाउँदा वास्ता नगरेको, हामीले फलोअप गर्दा पनि सम्पर्कमै आउन नचाहेको र कुनै जानकारी नगराएको हुँदाले हो।’
मैत्रीपूर्ण खेल भएको कारण मलेसिया र बहराइनबीचको खेलका लागि क्यापमा भएका खेलाडीहरूलाई नै निरन्तरता दिइएको उनले बताए। त्यसमा नयाँ खेलाडी नथपिएको उनले जानकारी दिए।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इंग्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिख सोमबार दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इंग्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। इंग्ल्यान्ड ‘सी’ ले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।