काठमाडौं । मछिन्द्र एफसी केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भारतको मानेभन्ज्याङ्ग एफसीलाई हराउँदै मछिन्द्र फाइनल प्रवेश गरेको हो । मछिन्द्रले उपाधिका लागि शनिबार न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलको खेलमा मछिन्द्रले मानेभन्ज्याङ्गलाई ५–० गोल अन्तरले हरायो ।
मछिन्द्रले २६ औं मिनेटमा बिमल घर्तिमगरको गोलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटमा स्टेफन बियोङले मछिन्द्रको अग्रता दोब्बर बनाए ।
हिसुब थपलियाले ३६ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा मछिन्द्रलाई ३–० ले अघि बढाए ।
दोस्रो हाफमा डिफेन्डर देबेन्द्र तामाङले गोल गरेपछि मछिन्द्र ४–० ले अघि बढ्यो । इन्जुरी समयमा आयुश घलानले गोल गरेपछि मछिन्द्रले ५–० को शानदार जित निकाल्यो ।
मछिन्द्र प्रतियोगिताको साविक विजेता समेत हो ।
पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई हराउँदै एनआरटी फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल दशरथ रंगशालामा शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।