काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा बुधबार स्पोर्टिङ इलाम र पोखरा थन्डर्स भिड्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टिम प्रतियोगिताको चौथों खेलमा मैदान उत्रन लागेका हुन् ।
पछिल्लो खेलको नतिजाबाट इलाम सन्तुष्ट भने छैन । खेल अवधिभर दबाब बनाएपनि इलामले बुटवल लुम्बिनीलाई नतिजा सुम्पिएको थियो । एरिक विष्टको सनसनीपूर्ण गोलमा इलामले बुटवलसँग आत्मसमर्पण गरेको थियो ।
प्राप्त अवसरलाई गोलमा बदल्ने चुनौती इलामलाई रहेको छ । इलामसँग खेलाडी प्रर्दशनका गुनासो गर्ने ठाउँ छैन, तर टिमबाट पर्याप्त गोल निस्किएको छैन । लिगको चौथों खेलमा जित निकाल्दै प्रतियोगितामा बलियो भएर फर्कने प्रयास इलामले गर्नेछ ।
उता, अन्तिम मिनेट समालिन नपाउँदा पोखराले झापा एफसीसँग अंक बाँड्न परेको थियो । पोखरालाई यस सिजनको एनएसएलको जायन्ट किलर मानिएको छ । खेलाडीको संयोजन र तालमेल हेर्दा उपाधिमा पोखराले कडा चुनौती पेश गर्ने आँकलन गरिएको छ । तर लिगको अंक तालिकामा उसको अवस्था अपेक्षा अनुसारको छैन ।
प्रतिभावान युवा खेलाडीले भरिएको पोखरासँग राम्रा विदेशी खेलाडीपनि छन् । पहिलो खेलमा चितवनलाई हराएर शानदार सुरुवात गरेको पोखराले ललितपुर र झापासँग अंक बाँडेको थियो । विदेशी खेलाडीसँग युवा खेलाडीको संयोजन मिलेको खण्डमा पोखराले कुनैपनि टिमलाई हराउन सक्ने प्रशिक्षक राजेन्द्र तामाङ दाबी गर्छन् ।
इलाम ३ खेलमा १ जित र २ हारको नतिजाले ३ अंक सहित तालिकाको छैटौं स्थानमा छ । पोखरा भने ३ खेलमा १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।