काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब सेफिल्ड युनाईटेडले प्रशिक्षक पाउल हेकिङ्गबोटमलाई बर्खास्त गर्ने भएको छ ।
शनिबार बर्नलीसँग ५–० ले पराजित भएपछि क्लबले मुख्य प्रशिक्षक बर्खास्त गर्ने तयारी गरेको हो ।
सेफिल्ड प्रिमियर लिगको तालिकाको पुछारमा छ । उसले तालिकामा ५ अंकमात्र जोडेको छ । सेफिल्डले प्रिमियर लिगको सुरुवात १४ खेल मध्य ११ खेलमा हार ब्यहोरेको छ ।
उनी नोभेम्बरमा क्लबको स्थायी प्रशिक्षक बनेका थिए । हेकिङ्गबोटमले पछिल्लो सिजन च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै युनाईटेडलाई शीर्ष स्थानमा पुर्याएका थिए ।
पूर्व म्यानेजर क्रिस वाइल्डरलाई उनको विकल्पको रुपमा हेरिएको छ ।
बर्नलीसँगको खेलपछि हेकिङ्गबोटमले प्रमुख खेलाडी बेच्ने क्लब निर्णयको आलोचना गरेका थिए । उनले फुटबल भन्दा वित्तिय निर्णय लिएर क्लबले गल्ती गरेको बताएका थिए ।
बुधबार सेफिल्डले घरेलु मैदानमा दोस्रो स्थानको लिभरपुलको आतिथ्यता गर्दैछ ।