काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको लिभरपुलले फुलह्यामलाई हराएको छ ।
आईतबार एनफिल्डमा ७ गोल निस्किएको खेलमा लिभरपुलले फुलह्याममाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।
ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले खेल सकिन दुई मिनेट अघि लिभरपुलका लागि विजयी गोल गरेका थिए ।
खेलको ८७ औं मिनेटसम्म ३–२ ले पछि रहेको लिभरपुलका लागि वाटारु एन्डोले प्रिमियर लिगमा आफ्नो पहिलो गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए । अर्नोल्डले खेल सकिन दुई मिनेट अघि लिभरपुलका लागि विजयी गोल गरे ।
अर्नोल्डकै प्रयासमा लिभरपुलले खेलमा खाता खोलेको थियो । खेलको २० औं मिनेटमा उनले प्रहार गरेको फ्रिकिक बारमा लागेर गोलरक्षक बन्र्ड लेनोसँग ठोक्किएर पोस्ट भित्र छिरेको थियो ।
लिभरपुलकै पूर्व खेलाडी ह्यारी विल्सनले चारमिनेट पछि फुलह्यामका लागि बराबरी गोल गर्न सफल भए । तर ३८ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले लामो दुरीबाट प्रहार गरेको बलले जाली चुमेपछि लिभपुलले खेलमा पुन अग्रता बनाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा केनी टेटेले फुलह्यामका लागि दोस्रो बराबरी गोल गरेका थिए भने ८० औं मिनेटमा बबी डे कोर्डोभा रिडले हेडमार्फत टिमलाई अग्रता दिलाएका थिए ।
फुलह्यामले १३ महिना एनफिल्डमा प्रिमियर लिगको खेलमा अपराजित लिभरपुलको कीर्तिमानलाई तोड्ने अपेक्षा गरिएको थियो । तर लिभरपुलले प्रिमियर लिगमा यस सिजन शानदार सुरुवात गर्दै प्रिमियर लिगको शीर्ष क्लब आर्सनल भन्दा दुई अंकले मात्र पछि देखिएको छ ।
लिभरपुल ३१ अंक सहित लिगको दोस्रो स्थानमा उक्लिदा फुलह्याम १५ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।