काठमाडौं । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग एनएसएलमा पहिलो जित दर्ता गराएको छ ।
आईतबार दशरथ रंगशालामा लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले हराएको हो ।
लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । इलामका अब्दुलाये बाले एक गोल फर्काएका थिए ।
खेलको अन्तिम समयमा कप्तान समेत रहेका एरिकले फ्रि–किकमा उत्कृष्ट गोल गर्दै बुटवललाई जित दिलाएका हुन् ।
खेलमा अग्रता बुटवलले ४८ औं मिनेटमा बियोङको गोलमा लिएको थियो । फरवार्ड जिलेस्पी जंग कार्कीले निकालेको क्रसमा बियोङले गोल गर्दै बुटवललाई अघि बढाएका थिए ।
खेलको ७९ औं मिनेटमा अब्दुलाये बाले गोल गर्दै इलामलाई खेल फर्काएका थिए । अमथ एनडाको पासमा अब्दुलायेले इलामका लागि बराबरी गोल गरेका थिए ।
खेल सकिन तीन मिनेट अघि बुटवलका कप्तान एरिक विष्टले गोल गर्दै बुटवललाई प्रतियोगिताको पहिलो जित दिलाए । एरिकले लामो दुरीबाट बायाँ खुट्टाको शक्तिशाली प्रहारले जाली चुमेको थियो । सोही गोल बुटवललाई प्रतियोगिताको तेस्रो खेलमा पहिलो जित दिलाउन पर्याप्त रह्यो ।
खेलको १७ औं मिनेटमा एरिककै फ्रि किक सिधै विकेश कुुथुको हातमा पुगेको थियो । दोस्रो हाफको ७६ औं मिनेटमा बल क्लियर गर्ने क्रममा एरिक विष्टले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएका थियो ।
तेस्रो मिनेटमा इलामका फरवार्ड भरत खवासले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो । फोडे कामाराको क्रसलाई भरतले पोस्टको दिशा दिएपनि बल पोलमा लागेर फर्किएको थियो ।
खेलको ५९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इलामले चाँडैनै बराबरी गर्ने अवसर गुमाएको थियो ।
बुटवलका इर्नेस्ट टेम्पेको ह्यान्ड बलमा इलामले पेनाल्टीको अवसर पाएको थियो । तर फोडे कामाराको पेनाल्टी प्रहारलाई बुटवलका कौआसी क्रिस्टियनले रोकेका थिए । खेलमा इलामले गोलका धेरै अवसर सिर्जना गरेपछि बुटवलका कौआसी त्यसको बाधक बने ।
जित सहित लुम्बिनीले ३ अंक जोडेको छ । इलामको समेत समान ३ अंक छ ।