काठमाडौं । नेपाल सुपर लिग एनएसएलको पूर्वेली डर्बीमा सोमबार झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दैछन् ।
दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ ।
पूर्वका दुई टिम पहिलो पटक एनएसएल खेल्दैछन् । पहिलो सिजन सकिएपछि झापा र इलाम अक्सनमार्फत आएका क्लब हुन् ।
इलामले एनएसएलको पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० को हार ब्यहोरेको थियो । विकेश कुथु कप्तानीको इलामले काठमाडौंलाई कडा टक्कर दिएपनि अंक लिन भने सकेका थिएन । दोस्रो खेलमा जित निकाल्ने दबाब इलामसँगै प्रशिक्षक मेघराज केसीमाथि पनि हुनेछ ।
झापा प्रतियोगिताको पहिलो खेल खेल्दैछ । स्पेनिस प्रशिक्षक रहेको झापा एफसीको कप्तानी अन्जन विष्टले सम्हाल्नेछन् । आइकोनिक खेलाडीको रपमा आभाष लामिछानेमा सबैको नजर रहनेछ । झापालाई यस सिजनको एनएसएलको बलियो टिम मानिएको छ ।
अक्सनमा महङ्गो मुल्यमा बिक्री भएका लकेन लिम्बुले झापाको खेल गुमाउनेछन् । राष्ट्रिय टिममा रहेको समय उनले चोट बोकेका थिए ।
पहिलो खेलमा हार ब्यहोरेका कारण इलामलाई अंक जोड्ने स्वाभविक दबाब हुनेछ । पूर्वको शान बोकेको झापा जित सहित एनएसएलको यात्रा प्रारम्भ गर्ने लक्ष्यमा हुनेछ ।