काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज आईतबार धनगढी एफसी र विरगञ्ज युनाईटेड एफसीबीच प्रतिस्पर्धा हुदैछ ।
दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । दुवै टिम प्रतियोगिताको पहिलो खेल खेल्दैछ ।
धनगढी एफसी पहिलो संस्करणको उपविजेता टिम हो । धनगढीले उपाधि भिडन्त काठमाडौं रेजर्ससँग गुमाएको थियो । धनगढी यसपटक समेत उपाधि जित्ने लक्ष्य सहित दोस्रो संस्करणको सुरुवात गर्दैछ ।
विरगञ्ज एनएसएलको नवप्रवेशी टिम हो । अक्सनमार्फत ठुलो रकम खर्चिएर विरगञ्जले एनएसएलमा प्रवेश पाएको हो । विरगञ्जले एनएसएलको पहिलो खेल खेल्दै गर्दा सुखद सुरुवात गर्ने लक्ष्यमा रहनेछ ।
धनगढीले मार्की खेलाडीको रुपमा आशिष चौधरी र विरगञ्जले दिप कार्कीलाई राखेका छन् ।
धनगढीले अघिल्लो सिजन चम्किएका अफिज ओलावले सहितका धेरै अनुहारलाई दोस्रो सिजनमा समेत उतार्दैछ । विरगञ्ज भने विदेशी खेलाडीमै धेरै निर्भर रहनेछ ।