काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार ब्यहोरेको हो ।
पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो ।
खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए ।
एकल प्रयासमा डिबक्स बाहिरबाट दोस्रो बार च्याम्दै ओमारको उत्कृष्ट प्रहारले जाली चुमेको थियो ।
खेल सकिन एक मिनेट अघि काउन्टर अट्याकमा अब्दुल्लाह अल धानीले गोल गर्दै यमनको जित सुनिश्चित गरेका थिए ।
नेपालले यमनविरुद्ध खेल अवधिभर खासै आक्रमण बुन्न सकेन । खेलमा निकै छरितो देखिएको यमनले दोस्रो हाफको अन्तिम तिर नेपालमाथि दबाब बनाएको थियो ।
नेपालका डिफेन्डर अनन्त तामाङ चोट बोक्दै मैदान बाहिरिएका थिए । उनलाई स्ट्रेचर राखेर मैदान बाहिर लगिएको थियो ।
नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनविरुद्ध पहिलो लेगको खेल दशरथ रंगशालामा खेलेको हो । दोस्रो लेगको खेल नेपालले यमनको घरेलु मैदानमा खेल्नेछ ।
नेपालले दोस्रो चरणको छनोटमा यूएईसँग पहिलो खेल ४-० ले गुमाएको थियो । समूह चरणको दोस्रो खेल यमनसँग हारेको छ ।