काठमाडौं । पोखरामा मंसिर ७ गतेबाट सुरु हुने प्रथम केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगिताको उद्घाटन ऐकडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।
मङ्सिर १५ गतेसम्म पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने छ ।
समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सि’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।
उपाधि विजेताले पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु २ लाख पचास हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेस्ट व्याटर र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।
एकेडेमीले अनुसाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरिरहेको जानकारी दिंदै अध्यक्ष आचार्यले प्रतियोगिताले खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकाससंगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुने उल्लेख गरे ।