काठमाडौं । इटाली युरो कप फुटबलमा छनोट भएको छ ।
सोमबार समूह सीको खेलमा युक्रेनसँग गोल रहित बराबरी खेल्दै इटाली युरो कपमा छनोट भएको हो ।
छनोट हुन लिग चरणको अन्तिम खेलमा इटालीलाई कम्तिमा बराबरीको नतिजा आवश्यक थियो । युक्रेनको मैदानको बराबरीको नतिजा निकाल्दै इटालीले जर्मनीको टिकट काटेको हो ।
युक्रेनले छनोटका लागि अब प्लेअफको बाटोबाट आउनुपर्ने भएको छ ।
इटालीले ८ खेलबाट १४ अंक जोड्यो । युक्रेनसँग समान अंक भएपनि गोल अन्तरका आधारमा इटालीले छनोट यात्रा पार गरेको हो । यस समूहबाट इङ्ल्याण्ड २० अंक सहित शीर्ष स्थानमा रहेर छनोट टुङ्गयायो ।
सोही समूहको अर्को खेलमा नर्थ मासिडोनियासँग १–१ को बराबरी खेल्दै छनोटको अन्तिम खेलमा इङ्ल्याण्डले एक अंक बटुल्यो । यसअघिनै युरो कपमा छनोट भैसकेको इङ्ल्याण्ड शीर्ष वरियता प्राप्त गर्ने दौडमा रहेको थियो ।
खेलमा अग्रता घरेलु टोली मासेडोनियाले कप्तान एनिस बार्धीको गोलमा लिएको थियो । दोस्रो हाफमा फिल फोडेनको कर्नरमा मासेडोनियाका जानी अटानासोवले आत्मघाति गोल गरेपछि खेल बराबरीमा गएको थियो ।
अन्तिम खेलमा अंक बटुल्न सफल इङ्ल्याण्ड २० अंक सहित शीर्ष ५ समूह विजेताको रुपमा युरो कपको ड्रका लागि पट वानमा स्थान पक्का गरेको छ ।