काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले बिहीबार यूएईसँग खेल्दैछ ।
समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस युवा खेलाडीले भरिएको टिम बोकेर यूएईमा छन् । उनले यूएईसँगको खेलमा तीन नयाँ खेलाडीलाई लिएका छन् । जसमा डिफेन्समा योगेश गुरुङ, मिडफिल्डरमा निशान हमाल र फरवार्डमा राजेश परियार छन् ।
चोटका कारण नेपालसँग भरपर्दा डिफेन्डर अनन्त तामाङ रहने छैनन् । सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ । अन्जनसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर छ ।
उनले विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका थिए ।
यूएईविरुद्ध खेल्दै गर्दा नेपाली टिम कम्तिमा अंक जोड्ने लक्ष्यमा हुनेछ । प्रि म्याच कन्फरेन्समा प्रशिक्षक एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताएका थिए । उनले यूएईविरुद्ध उत्कृष्ट प्रर्दशनको बाचा गरेका थिए ।
समूह एचमा विजेता बन्ने दाउमा रहेको यूएई भने हाइ प्रोफाइलका प्रशिक्षक पाउलो बेन्टोको नेतृत्वमा मैदान उत्रनेछ ।
पोर्चुगलका पूर्व प्रशिक्षक समेत रहेका बेन्टोले यसअघि दक्षिण कोरियालाई कतार विश्वकपको अन्तिम १६ सम्म पुर्याएका थिए । त्यसपछि बेन्टो यूएईलाई नेतृत्व गर्न आएका हुन् ।
उनी प्रशिक्षकको रुपमा आएपछि यूएईले खेलेको तीन मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । जसमा कोस्टा रिका, कुवेत र लेबननविरुद्ध रहेका छन् । तेस्रो चरण पुग्ने यूएई बलियो दाबेदार रहेकाले समूह विजेताको रुपमा बहराईनले चुनौती दिने आँकलन गरिएको छ ।
विश्वकपमा ४८ टिमको ढोला खुल्दा यूएई जस्ता देशले त्यसको फाइदा उठाउने अपेक्षा गरिएको छ ।
खेलअघि यूएई प्रशिक्षक पाउलो बेन्टोले नेपाललाई सहज रुपमा लिने गल्ती नगर्ने बताउँदै आफ्नो स्तर अनुसारको खेल प्रर्दशन गर्ने बताएका थिए ।
‘हामीले लामो तयार गरेका छौं । नेपालविरुद्ध स्पष्ट तीन अंक जोड्न चाहन्छौं । हामी समूहको उत्कृष्ट हुने प्रयासमा छौं ।’ उनले भनेका छन् ।