काठमाडौं । उरुग्वेका भेट्रान फरवार्ड लुईस सुआरेजलाई राष्ट्रिय फुटबल टिममा बोलाईएको छ । प्रशिक्षक मार्सेलो बायल्साले उरुग्वेको राष्ट्रिय टिममा सुआरेजलाई बोलाएका हुन् ।
उरुग्वेले विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र बोलिभियाविरुद्ध खेल्दैछ । सोही खेलका लागि प्रशिक्षक बायल्साले सुआरेजलाई टिममा बोलाएका हुन् ।
उरुग्वेको राष्ट्रिय टिमको नेतृत्व गरेपछि बायल्साले पहिलो पटक सुआरेजलाई टिममा फर्काएका हुन् । ३६ वर्षका फरवार्ड गत डिसेम्बरमा विश्वकपको समूह चरणबाट टिम बाहिरिएपछि राष्ट्रिय टोलीमा समावेश छैनन् ।
सुआरेजको आगमनले उनको पूर्व सहकर्मी तथा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँगको भेटलाई नजिक ल्याईदिएको छ । सुआरेज यस सिजन ब्राजिलमा शानदार फर्ममा देखिएका छन् । उनको १४ गोलमा ग्रेमियो ब्राजिली लिगको उपाधि दाबेदारको रुपमा देखिएको छ । लिगमा चार खेल बाँकी रहदाँ सुआरेजको क्लब उपाधि दौडमा देखिएको छ । जसमा सुआरेजको प्रर्दशन मुख्य छ ।
उनी यस सिजनको अन्त्यसँगै अमेरिकन क्लब इन्टर मियामी जाने चर्चा छ । उनलाई मियामी ल्याउन मेस्सीले निकै जोड गरिरहेका छन् । सुआरेज मियामी गएको खण्डमा मेस्सीसँगै पूर्व सहकर्मी सर्जियो बुस्केट र जोर्डी अल्बासँग उरुग्वेका अन्तराष्ट्रिय स्टारको सहकार्य हुनेछ ।
मेस्सी र सुआरेजले बार्सिलोनाबाट ६ सिजन सहकार्य गरेका थिए । उनीहरु मिलेर चार लिग उपाधि, चार स्पेनिस कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उरुग्वेका खेलाडी बार्सिलोनाबाट बाहिरिएपछि मेस्सीले निकै दुख ब्यक्त गरेका थिए । लगत्तै अर्को सिजन उनले समेत बार्सिलोना छाडेका थिए ।